स्पेनको टोलेडो प्रान्तमा बुधबार दुई तीव्र गतिको रेल आपसमा ठोक्किँदा ६८ जनाको मृत्यु भएको छ भने १७९ जना घाइते भएका छन्। डीडी न्युजका अनुसार दुर्घटनापछि उद्धार तथा राहतका लागि आपत्कालीन र स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुगेको छ।
स्पेनी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजे मोरा र ओर्गाज सहरबीच दुर्घटना भएको हो। एउटा रेल सुस्त गतिमा चलिरहेको बेला पछाडिबाट तीव्र गतिमा आइरहेको अर्को रेल त्यसमा ठोक्किएको थियो।
ठक्कर यति शक्तिशाली थियो कि रेलका धेरै डिब्बा नराम्ररी क्षतिग्रस्त भएका छन्। दुर्घटनापछि राजधानी म्याड्रिडलाई दक्षिणी आन्दालुसिया क्षेत्रसँग जोड्ने रेलमार्ग बन्द गरिएको छ।
दुर्घटनामा परेका दुवै रेल सरकारी कम्पनी रेन्फे र निजी कम्पनी इर्योका हुन्। यी रेल सामान्यतया प्रतिघण्टा २०० किलोमिटरभन्दा बढी गतिमा चल्ने गर्छन्।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताएका छन्। उद्धार तथा राहत टोली घटनास्थलमा खटिएर दुर्घटनाबाट प्रभावित मानिसहरूलाई सहयोग गरिरहेको उनले बताएका छन्।
टोलेडो नजिकैको उर्दा सहरका मेयर म्यानुएल गालानले घाइतेको उपचार तथा हेरचाहका लागि खेलकुद हल तयार राख्न उद्धार टोलीले आफूलाई आग्रह गरेको जानकारी दिएका छन्।
दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन। रेल समयमै किन रोकिएन भन्ने विषयमा अनुसन्धान गरिनेछ। सिग्नल प्रणालीमा खराबी थियो वा चालकले ब्रेक लगाउन ढिलाइ गरे भन्नेबारे पनि जाँच हुनेछ।
ठक्कर हुनुअघि सम्बन्धित प्रणालीले काम गरिरहेका थिए कि थिएनन् भन्ने विषयसमेत अनुसन्धानको दायरामा रहनेछ। समाचारअनुसार रेन्फेको रेलका चालक अझै बेपत्ता छन्। रेल चालकहरूको संगठनले दुर्घटनालाई असामान्य प्रकृतिको भनेको छ।
म्याड्रिडलाई जोड्ने रेल सेवा बन्द भएपछि यात्रुहरूले लामो समय प्रतीक्षा गर्नुपरेको छ। राजधानीका रेल स्टेसनहरूमा यात्रुहरू रेल सेवाको पुनः सञ्चालनको प्रतीक्षामा रहेका छन्।
नौ महिनाअघि पनि इर्यो र रेन्फेका रेल ठोक्किएका थिए
स्पेनमा यसै वर्ष जनवरीमा पनि यी दुई कम्पनीका रेल ठोक्किएका थिए। आन्दालुसियाको अदामुज नजिक भएको उक्त दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो।
इर्यो कम्पनीको तीव्र गतिको रेल मालागाबाट म्याड्रिड जाँदै थियो। रेलका केही डिब्बा लिकबाट खसेर अर्को लिकमा पुगेपछि विपरीत दिशाबाट आइरहेको रेन्फेको रेलसँग ठोक्किएका थिए।
त्यतिबेला प्रत्यक्षदर्शीहरूले ठक्कर यति शक्तिशाली भएको बताएका थिए कि उनीहरूलाई भूकम्पको धक्का महसुस भएको थियो।
प्रकाशित: १२ कार्तिक २०८३ ०७:२३ बिहीबार