अन्तर्राष्ट्रिय

अदालतले जयललितालाई जमानतमा छोडेन

नयाँ दिल्ली– कर्नाटक उच्च न्यायालयले तमिलनाडुकी पूर्व मुख्यमन्त्री तथा अल इन्डिया अन्ना द्रविड मुनेत्र कगडम एआइडिएमके पाटी प्रमुख जे जयललितालाई जमानतमा रिहा गर्न अस्विकार गरेको छ।जयललिताले दिएको निवेदनमाथि सुनुवाई गर्दै अदालतले मंगलबार जमानतमा रिहा नगर्ने फैसला गरेको हो। अदालतको फैसलाअघि भने सरकारी वकिलले जयललितालाई सशर्त जमानत दिन कुनै आपत्ति नभएको जनाएका थिए।
१८ वर्षअघि जयललिताविरुद्ध परेको अकूत सम्पत्ति कमाएको मामिलामा अदालतले एक साताअघि ४ वर्ष जेल सजायको फैसला गरेको थियो। अदालतको फैसलापछि उनी २७ सेप्टेम्बरदेखि नै कैदमा छिन्। उनको दल एआइडिएमकेका नेता र समर्थकले आक्रमण गर्नसक्ने सम्भावनाका कारण अदालत र उनलाई थुनिएको जेल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। अदालत र जेलको एक किलोमिटर परिधिमा निषेधित क्षेत्र घोषणा गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ आश्विन २०७१ २१:१० मंगलबार