अन्तर्राष्ट्रिय

भारी वर्षापछि चीनमा ६ लाख मानिस सुरक्षित स्थानमा सारिए

लगातारको मुसलधारे वर्षाका कारण चीनको फुजियान प्रान्तमा पाँच लाख ९९ हजार ३०० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार शुक्रबार रातिसम्म जोखिमयुक्त तटीय तथा जमिनतर्फका क्षेत्रबाट उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो।

भारी वर्षाबाट प्रभावित क्षेत्रमा आपतकालीन उद्धार, विपद् राहत तथा विपद्पछिको पुनःस्थापनाका लागि फुजियानका विभिन्न प्रान्तीय विभागले २१ करोड युआन (करिब तीन करोड १० लाख अमेरिकी डलर) छुट्याएका छन्।

प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले बाढी नियन्त्रणका लागि लेभल-३ को आपतकालीन प्रतिक्रिया सक्रिय गरेको छ। यो तेस्रो उच्च तहको आपतकालीन प्रतिक्रिया हो। टाइफुनका लागि भने लेभल-४ को प्रतिक्रिया कायम राखिएको छ।

सन् २०२६ को १८औं आँधी टाइफुन सौडेलले बिहीबार बिहान फुजियानको झाङझाउ सहरअन्तर्गत झाङ्पु काउन्टीमा तेस्रोपटक जमिनमा प्रवेश गरेको थियो। तीव्र हावा र मुसलधारे वर्षाको चेतावनी जारी गरिएपछि दशौं हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

टाइफुन सौडेलको प्रभाव छिमेकी जियाङ्सी प्रान्तमा पनि परेको छ। त्यहाँ ५३ काउन्टीका एक लाख २८ हजार ५०० मानिस प्रभावित भएका छन् भने करिब ८ हजार ७०० जनालाई आपतकालीन रूपमा सुरक्षित स्थानमा सारिएको छ।

जियाङ्सीका अधिकारीले बाढी नियन्त्रणका लागि लेभल-४ को आपतकालीन प्रतिक्रिया सक्रिय गरेका छन्। एजेन्सी

प्रकाशित: २० भाद्र २०८३ ०९:०९ शनिबार