म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो।
विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ओ ल्विनबाट मन्डालेतर्फ गइरहेको बसको ब्रेक फेल भएपछि विपरीत दिशाबाट आएको भ्यानसँग ठोक्किएको थियो।
ठक्करपछि बस सडक छेउको खोल्सामा खसेर पल्टिएको थियो। दुर्घटनालगत्तै स्थानीय अग्नि नियन्त्रक र उद्धारकर्मीलाई घटनास्थलमा परिचालन गरिएको विभागले जनाएको छ।
दुर्घटनामा भ्यानका चालकको मृत्यु भएको छ। बसमा सवार २९ जनामध्ये पाँच जनाको ज्यान गएको र १२ जना घाइते भएको बताइएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।
उद्धार टोलीले दुर्घटनामा परेका तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी राखेको विभागले जनाएको छ।
प्रकाशित: ८ कार्तिक २०८३ १०:४१ आइतबार