अन्तर्राष्ट्रिय

चीनमा ५.२ म्याग्निच्युडको भूकम्प : दुई जनाको मृत्यु

सोमबार बिहान चीनको गुआङ्सी क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको छ, जसमा दुई जनाको मृत्यु भएको छ। भूकम्पपछि लिउझाउ शहरबाट ७ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। राज्य सञ्चालित सञ्चार माध्यमहरूका अनुसार बिहानको भूकम्पमा १३ वटा भवन भत्किएका छन्।

एक जना अझै बेपत्ता छन् भने चार जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार घाइतेहरू खतरामुक्त छन् र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।

भूकम्पपछि उक्त क्षेत्रमा व्यापक राहत र उद्धार कार्य भइरहेको छ। अधिकारीहरूले यातायात सेवामा अवरोध आउने बारेमा पनि चिन्ता व्यक्त गरेका छन्।

रेलवे अधिकारीहरूले ट्र्याक र अन्य पूर्वाधारहरूको निरीक्षण गर्न थालेका छन्। यद्यपि, प्रशासनले बिजुली, सञ्चार, पानी, ग्यास आपूर्ति र सडक यातायात सामान्य रूपमा सञ्चालन भइरहेको बताएको छ।

प्रकाशित: ४ जेष्ठ २०८३ ०९:५१ सोमबार