अन्तर्राष्ट्रिय

रुसी विमान दुर्घटनामा सवार ४९ जनाकै मृत्यु

चिनियाँ सीमा नजिकै रुसी यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा विमानमा सवार ४९ जनाको मृत्यु भएको छ। विमानमा ४३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। यात्रुहरूमा ५ बालबालिका पनि थिए।

उद्धारकर्मीहरूले टिन्डाबाट करिब १६ किलोमिटर टाढा पहाडमा रुसी यात्रुवाहक विमानको भग्नावशेष फेला पारेका छन्।

रोयटर्सका अनुसार यो विमान रुसको पूर्वी अमुर क्षेत्रमा उडिरहेको थियो। अमुरका गभर्नर भासिली ओर्लोभले टेलिग्राममा भने कि हराएको विमान अंगारा एयरलाइन्सको हो।

स्थानीय आपतकालीन मन्त्रालयले विमान चिनियाँ सीमा नजिकै रहेको ब्लागोभेस्चेन्स्कको खाबारोभस्क हुँदै टिन्डा जाँदै गरेको बताएको छ। टिन्डा पुग्नुअघि नै यो राडारबाट हराएको थियो र सम्पर्क विच्छेद भएको थियो।

दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा बेपत्ता

इन्टरफ्याक्सको रिपोर्ट अनुसार विमान टिन्डा विमानस्थलमा अवतरण गर्ने पहिलो प्रयासमा असफल भयो। दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा, यो राडारबाट गायब भयो।

टास समाचार एजेन्सीले एक स्रोतलाई उद्धृत गर्दै भनेको छ कि विमानले टिन्डा विमानस्थलबाट केही किलोमिटर टाढा तोकिएको चेकपोइन्टसँग सम्पर्क गर्न पनि असफल भयो।

टिन्डा शहर रुसी राजधानी मस्कोबाट लगभग ६,६०० किलोमिटर पूर्वमा अवस्थित छ। एजेन्सी

प्रकाशित: ९ श्रावण २०८२ ०७:२३ शुक्रबार

#plane crash #NepaliNews #Nagariknews