अन्तर्राष्ट्रिय

बर्डफ्ल्यु नियन्त्रण गर्न डेनमार्कमा हजारौँ कुखुरा मारियो

बर्डफ्ल्युको महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कमा हजारौं कुखुरा मारिएको छ। देशको जुटल्याण्डमा झण्डै २५ हजार खुकुरा मारिएको सरकारी अधिकारीहरूले मंगलबार जानकारी दिएका छन्।

स्टाटेन्स सेरुम इन्स्टिच्युटबाट ल्याइएको परीक्षण रिपोर्टका आधारमा त्यस क्षेत्रका कुखुराबाट बर्डफ्ल्यु फैलिन सक्ने देखिएर कुखुरा मारिएको हो।  

दुई ओटा क्षेत्रका कुखुराहरुमा त्यस्तो खतरा देखिएको अधिकारीहरुले जनाएका छन्। त्यस क्षेत्रलाई अहिले नियन्त्रणमा लिएर उच्च सतर्कता अपनाइएको छ।  

डेनमार्कको जुटल्याण्ड क्षेत्रमा यही महिनाको सुरुमा यसअघि पनि बर्डफ्ल्युको सङ्क्रमण देखिएको थियो।

यो रोग युरोपका अन्य देशहरुमा पनि पछिल्लो समयमा पुनः फैलिन थालेको छ। विषेश गरेर जर्मनी र फ्रान्समा यसको असर बढी देखिएको समाचारमा जनाइएको छ।  

सङ्क्रमण देखिएका अन्य देशहरुमा पनि कुखुराहरु मार्ने, प्रभावित क्षेत्रलाई नियन्त्रणमा लिने लगायतका उच्च सतर्कता अपनाउने गरिएको छ।

प्रकाशित: २ मंसिर २०७७ १०:२३ मंगलबार