अन्तर्राष्ट्रिय

म्यान्मामा सेनाले गरेको हवाई आ’क्रमणमा ३३ जनाको मृ’त्यु

पश्चिमी म्यान्माको एक बजारमा सेनाले सोमबार गरेको हवाई आक्रमणमा ३३ जनाको मृत्यु भएको छ।

यस्तै, आक्रमणमा थप ३६ जना घाइते भएका उक्त क्षेत्रमा प्रभाव रहेको विद्रोही समूह अराकान आर्मीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ।

समूहले राखाइन राज्यको क्याउकट सहरको एक बजार र छेउको पुलमा सोमबार मध्यान्हतिर भएको आक्रमणमा कैयौँ घाइते भएका र कतिपय घाइतेको अवस्था चिन्ताजनक रहेकोले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताएको छ।

सुरक्षा कारण देखाउँदै नाम नखुलाउन अनुरोध गर्ने एक प्रत्यक्षदर्शीले सोमबार अपराह्न घटनास्थलमा ३० भन्दा बढी मृत शरीर आफूले देखेको बताए।

बाक्लो धुँवा उडिरहेको घटनास्थलको भग्नावशेष र खाल्डा परेका सडकहरूबीच मानव अवशेषहरू देखिन्थे।

यस बिषयमा प्रतिक्रियाका लागि सेनासँग सम्पर्क हुन सकेन। सन् २०२१ को सैन्य कूबाट सुरु भएको म्यान्माको गृहयुद्धमा पश्चिमी राज्य राखाइनमा सबैभन्दा भयानक अवस्थाहरू देखिएका छन्। एएफपी

प्रकाशित: १२ आश्विन २०८३ १९:११ सोमबार