इजिप्टको राजधानी कायरोमा बुधबार साँझ भएको भीषण सडक दुर्घटनापछि आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार राजमार्गमा इन्धन बोकेको ट्यांकर दुर्घटनामा परेपछि आगलागी भएको थियो। आगो आसपासबाट गुडिरहेका अन्य सवारीसाधनमा समेत फैलिएको थियो।
यो दुर्घटना कायरोको वर्राक क्षेत्रस्थित रिङ रोडमा भएको हो। घटनापछि नजिकैका अस्पतालमा आगोले जलेका तथा धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएका घाइतेहरूको उपचार गरिएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा राजमार्गमा आगोका ठूला लप्का र आकाशमा फैलिएको कालो धुवाँको मुस्लो देखिएको छ। आगलागी यति भीषण थियो कि आसपासमा रहेका कैयौँ सवारीसाधन जलेर नष्ट भएका थिए।
यद्यपि, अधिकारीहरूले आगलागीको आधिकारिक कारण खुलाएका छैनन्। सरकारी सञ्चारमाध्यमका अनुसार इन्धन ट्यांकर पल्टिएपछि त्यसमा रहेको पेट्रोल सडकमा फैलिएको थियो। त्यसपछि आगो आसपासका सवारीसाधनमा समेत सल्किएको थियो।
सरकारी अखबार अल-अहरामले अनुसन्धानसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै निजी ठेकेदारको स्वामित्वमा रहेको उक्त ट्यांकर राजमार्ग हुँदै गइरहेको बेला अगाडि उच्च भोल्टेजको विद्युत् तार खसेको जनाएको छ। त्यसपछि चालकले सवारीसाधनमाथिको नियन्त्रण गुमाएका थिए।
ट्यांकर डिभाइडर पार गर्दै पल्टिएपछि त्यसमा आगलागी भएको बताइएको छ।
प्रकाशित: १० मंसिर २०८३ ०७:५६ बिहीबार