केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन्।
राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा यसअघि १७ जनाको ज्यान जाने गरी दुर्घटना भएको तीन साताभन्दा कम समयमै अर्को घातक दुर्घटना भएको हो।
प्रहरीका अनुसार, आइतबार बिहान भएको दुर्घटनाका बेला बसमा सवार यात्रुहरू अन्त्येष्टि कार्यक्रममा सहभागी भएर फर्कँदै थिए। घाइतेहरूको उपचार भइरहेको छ। माकुएनी काउन्टीका आयुक्त अब्दुल्लाही खालिफले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताए।
दुर्घटना हुनुको कारणबारे तत्काल स्पष्ट भइसकेको छैन। केन्यामा हुने सडक दुर्घटनाका प्रमुख कारणमा तीव्र गति र सडकको खराब अवस्थालाई लिने गरिएको छ।
केन्याको राष्ट्रिय यातायात तथा सुरक्षा प्राधिकरणका अनुसार, दुर्घटना भएको राजमार्गको उक्त खण्डलाई सडक दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ। प्राधिकरणले यस क्षेत्रमा सडक सुरक्षा सुधार गर्न विभिन्न सुझावसमेत दिएको थियो।
प्रकाशित: ८ कार्तिक २०८३ १६:५२ आइतबार