अन्तर्राष्ट्रिय

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृ*त्यु

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ। राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार दुर्घटनामा अझै ११५ जना बेपत्ता छन् भने १०८ जनाको उद्धार गरिएको छ। 

‘कन्या यातायात ८’ नामक जहाज पूर्वी जाभाको सुराबायाबाट दक्षिण कालिमान्टनको बञ्जर्मासिनतर्फ जाने क्रममा दुर्घटनामा परेको हो। 

जहाज सेप्टेम्बर १२ मा सुराबायाबाट प्रस्थान गरेको थियो । खराब मौसमका कारण यात्रामा समस्या आएपछि सेप्टेम्बर १३ बिहान करिब २ बजे स्थानीय समयअनुसार जहाजसँग सम्पर्क विच्छेद भएको थियो। 

खोजी तथा उद्धारमा संलग्न टोलीले जहाजभित्र तथा मध्य कालिमान्टन प्रान्तको तटीय क्षेत्रमा शव फेला पारेका छन्। गोताखोरहरूले जहाजका केबिनमा खोजीलाई केन्द्रित गरेका छन्। तर पानीमुनि कम दृश्यता र तीव्र समुद्री धाराका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको एजेन्सीले जनाएको छ। 

करिब १७ हजार टापु रहेको इन्डोनेसियामा विभिन्न टापुलाई जोड्न तथा यात्राका लागि फेरी र अन्य समुद्री यातायातमा ठूलो निर्भरता छ । मौसम, समुद्री अवस्था र जहाजको सुरक्षासम्बन्धी कारणले त्यहाँ समय–समयमा समुद्री दुर्घटना हुने गरेका छन्।  

प्रकाशित: ७ आश्विन २०८३ १६:४३ बुधबार