काठमाडौं – (एजेन्सी)– बेलायतमा सम्पन्न आम निर्वाचनमा सत्तारुढ कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत हात पारेको छ। ६ सय ५० सिट रहेको संसद्मा कन्जर्भेटिभ पार्टीले ३ सय ६४ सिट जितेको हो। उक्त पार्टीले गत निर्वाचनमा भन्दा यसपटक ४७ सिट बढी जितेको छ। उक्त पार्टीले सन् १९८७ पछि पहिलो पटक यति धेरै सिट प्राप्त गरेको हो। निर्वाचनमा विपक्षी लेबर पार्टी २ सय ३ सिटमा सीमित भएको छ। विपक्षी दलले ५९ सिट गुमाएको छ। बेलायतमा लामो समयसम्म लेबर पार्टीले सत्तामा आफ्नो वर्चस्व कायम राख्दै आएको थियो।
निर्वाचना नजिता सार्वजनिक भएसँगै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफूले नयाँ जनादेश प्राप्त गरेको बताएका छन्। उनले अब बेलायतलाई एकजुट गर्न सकिने र युरोपेली संघबाट बाहिर निस्कने सहमति लागू गर्न सहज हुने प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, ‘अब हामी ब्रेग्जिटलाई ३१ जनवरीसम्म टुंगोमा पु-याउँछौं। अब यदि, तर वा सायद भन्ने हुँदैन।’ जोनसन गत जुलाईमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। पछिल्लो समय उनी ब्रेग्जिटलाई कसरी सफल बनाउने भन्नेबारेमा ध्यान केन्द्रित गरिरहेका थिए। पार्टीले अप्रत्यासित हार बेहोरेपछि लेबर पार्टीका नेता जिरेमी कार्बिनले दुःख व्यक्त गरेका छन्।
६ सय ५० सिट रहेको संसद्मा कन्जर्भेटिभ पार्टीले ३ सय ६४ सिटमा जित हासिल गरेको छ।
निर्वाचनमा सहभागी दलमध्ये स्कटल्यान्डको स्काटिस नेसनल पार्टी (एसएनपी) ले राम्रो नतिजा ल्याएको छ। उक्त दलले ४८ सिटमा जित हासिल गरेको छ। बेलायतमा तेस्रो ठूलो दल मानिएको लिबरल डेमोक्रेट्सको सिट संख्या घटेर ११ मा सिमित भएको छ। पार्टीका प्रमुख जो स्विन्सनले १ सय ४९ भोटले आफ्नो सिट हारेका छन्। ग्रिन पार्टीले एक र प्लाइड कुमरीले ४ सिट जितेका छन्। ब्रेग्जिट पार्टीले भने खातासमेत खोल्न सकेन। बेलायतमा पछिल्लो पाँच वर्ष अवधिमा यो तेस्रो निर्वाचन हो। यसअघि २०१५ र २०१७ मा निर्वाचन भएको थियो।
युरोपेली संघले बेलायतलाई संघबाट बाहिर हुन आगामी जनवरी ३१ सम्मको म्याद दिएको छ। सन् २०१६ मा बेलायतमा भएको जनमत संग्रहमा ५२ प्रतिशत मतदाताले ब्रेग्जिटको समर्थन गरेका थिए।
जोनसनको दलले स्पष्ट बहुमत ल्याउनुमा ब्रेग्जिट प्रमुख कारण भएको विज्ञहरुले औंल्याएका छन्। जोनसनले ब्रेग्जिटलाई एकसूत्रीय रुपमा अघि बढाएका थिए। उनले निर्वाचनका बेला ‘गेट ब्रेग्जिट डन’ नारा नै बनाएका थिए। चुनावी अभियानका क्रममा उनले यो विषयलाई तत्कालै टुंग्याउने प्रतिबद्धता जनाएका थिए। जब कि लेबर पार्टी ब्रेग्जिटका विषयमा अर्काे जनमत संग्रहको पक्षमा देखिएको थियो। ब्रेग्जिटका कारण बेलायत अन्योलमा परिरहेका बेला जोनसनले अघि सारेको रणनीतिलाई बेलायती जनताले समर्थन गरेका हुन्।
प्रकाशित: २८ मंसिर २०७६ ०१:१९ शनिबार