अन्तर्राष्ट्रिय

पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री बेनजिर हत्याको १८ वर्ष : अझै सुल्झिएन रहस्य

पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री तथा मुस्लिम राष्ट्रकी पहिलो निर्वाचित महिला नेतृ बेनजिर भुट्टोको हत्या सन् २००७ डिसेम्बर २७ मा भएको थियो। आज यो घटनाको १८औं वार्षिकोत्सव हो। तर हत्याको मुख्य योजनाकारबारे रहस्य कायम छ। 

बेनजिर भुट्टोको जन्म २१ जुन १९५३ मा कराचीमा भएको थियो। उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकार अली भुट्टोकी जेठी छोरी थिइन्। उनले हार्वर्ड र अक्सफोर्ड विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेकी थिइन्। सन् १९७९ मा बुबालाई सैनिक तानाशाह जिया-उल-हकको सरकारले मृत्युदण्ड दिएपछि बेनजिरले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) को नेतृत्व सम्हालिन्।

उनी सन् १९८८ देखि १९९० र सन् १९९३ देखि १९९६ सम्म गरी दुई पटक पाकिस्तानकी प्रधानमन्त्री भइन्। ३५ वर्षको उमेरमा प्रधानमन्त्री बन्दै उनले मुस्लिम राष्ट्रमा महिला नेतृत्वको नयाँ इतिहास रचिन्। उनको नेतृत्वमा पाकिस्तानले महिला सहभागिता, शिक्षा, स्वास्थ्य र लोकतन्त्रको पक्षमा महत्वपूर्ण काम गरेको विश्वार गरिन्छ। तर भ्रष्टाचारका आरोपहरूका कारण दुवै कार्यकाल विवादरहित हुन सकेन्। 

हत्या कसरी भयो?
सन् २००७ मा आठ वर्षको निर्वासनपछि बेनजिर पाकिस्तान फर्किएकी थिइन्। जनवरी २००८ को संसदीय चुनावको प्रचारका क्रममा डिसेम्बर २७ मा रावलपिन्डीको लियाकत बागमा उनले र्‍यालीलाई सम्बोधन गरिन्। र्‍याली सकिएपछि बुलेटप्रुफ गाडीको सनरुफबाट बाहिर निस्केर समर्थकहरूलाई हात हल्लाउँदै गर्दा एक १५ वर्षीय आत्मघाती आक्रमणकारी (बिलाल उर्फ सईद) ले उनलाई गोली हाने र त्यसपछि आफैंलाई बमले उडाए।

यो हमलामा बेनजिरसँगै २४ जना मारिए भने दर्जनौं घाइते भएका थिए। हमलाको जिम्मेवारी अलकायदाले लिएको थियो। तर पाकिस्तानी तालिबानका कमाण्डर बैतुल्लाह मेहसुद मुख्य योजनाकार भएको विश्वास गरिन्छ। तर त्यो समयका सैन्य शासक पूर्वराष्ट्रपति परवेज मुशर्रफमाथि पनि सुरक्षा नदिएको र हत्यामा संलग्नताको आरोप लागेको थियो। मुशर्रफले भने बेनजिरका श्रीमान् आसिफ अली जरदारी (वर्तमान राष्ट्रपति) माथि हत्याको आरोप लगाउँदै आएका थिए। 

मृत्युको कारणमा विवाद
सरकारले सुरुमा बम विस्फोटबाट टाउको सनरुफको लिभरमा ठोक्किएर मृत्यु भएको बतायो। स्कटल्यान्ड यार्डको जाँचले पनि गोली नलागेको निष्कर्ष निकाल्यो। तर पीपीपी र परिवारले गोली लागेको दाबी गरे। संयुक्त राष्ट्रसंघको जाँच आयोगले सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही भएको र घटनास्थल छिट्टै सफा गरेर प्रमाण नष्ट गरिएको ठहर गर्‍यो।

हत्यापछि के भयो?
घटनापछि देशभर हिंसा भयो र चुनाव स्थगित भयो। परवेज मुशर्रफमाथि हत्यामा संलग्नताको आरोप लाग्यो। उनी भगौडा घोषित भए र दुबई निर्वासनमा गए, जहाँ सन् २०२३ मा उनको मृत्यु भयो। दुई प्रहरी अधिकारीलाई प्रमाण नष्ट गरेकोमा १७ वर्ष जेल सजाय भयो। पाँच संदिग्ध तालिबान सदस्यलाई प्रमाण अभावमा सफाइ दिइयो। मुख्य योजनाकारहरू अझै फरार छन् वा मारिएका छन्।

आसिफ अली जरदारी र अध्यक्ष बिलावल भुट्टो जरदारीले बेनजिरको लोकतन्त्र र समावेशी दृष्टिकोणलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। बेनजिरको हत्या पाकिस्तानको राजनीतिक अस्थिरता, आतंकवाद र सैनिक हस्तक्षेपको प्रतीक बनेको छ। उनको विरासत आज पनि पीपीपी र उनका छोरा बिलावल भुट्टो जरदारीमार्फत जीवित छ। पीपीपी सिन्ध प्रान्तमा सीमित छ। एजेन्सीको सहयोगमा 

प्रकाशित: १२ पुस २०८२ ११:१७ शनिबार