अन्तर्राष्ट्रिय

जेलभित्रै प्रहरीमाथि आक्रमण गरेर १७ कैदी फरार, खोजीमा १७ टोली परिचालन

भारतको तमिलनाडुस्थित थेनी जिल्लाको एक जेलबाट सोमबार राति प्रहरीमाथि आक्रमण गरेर १७ कैदी फरार भएका छन्।

प्रहरीले रातभर चलाएको खोजी अभियानमा चार जनालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बाँकी १३ कैदीलाई पक्राउ गर्न १७ विशेष टोली परिचालन गरिएको छ।

दक्षिण क्षेत्रका प्रहरी महानिरीक्षक विजयेन्द्र बिडारीका अनुसार सबै १७ कैदीलाई एउटै बन्दी कक्षमा राखिएको थियो। राति एक कैदीको स्वास्थ्य बिग्रिएको जानकारी आएपछि कारागारका कर्मचारी र सुरक्षाकर्मी त्यहाँ पुगेका थिए। त्यसै बेला कैदीहरूले उनीहरूमाथि आक्रमण गरेर फरार भएका थिए। घटनामा तीन प्रहरी कर्मचारी घाइते भएका छन्।

यस घटनालाई सन् १९९५ पछि तमिलनाडुमा कैदी फरार भएको ठूलो घटनामध्ये एक मानिएको छ। सन् १९९५ मा भेल्लोर किल्लाभित्र रहेको विशेष हिरासत शिविरबाट ४३ जना लिट्टे (एलटीटीई) का संदिग्ध सदस्यले करिब ४७ मिटर लामो सुरुङ खनेर भागेका थिए।

घटनापछि प्रहरीले आसपासका जिल्लामा सुरक्षा सतर्कता बढाएको छ। छिमेकी डिन्डिगुल जिल्लाका १६ स्थानमा जाँच चौकी स्थापना गरी आवतजावत गर्ने सवारी साधनको जाँच भइरहेको छ। फरार कैदीका तस्बिर राज्यका विभिन्न प्रहरी कार्यालयमा पठाइएको छ। प्रहरीले उनीहरूको खोजी तीव्र बनाएको छ।

प्रकाशित: १० कार्तिक २०८३ ०९:०८ मंगलबार