संयुक्त राष्ट्रसंघको महासभाले अफ्रिकाको वास्तविक आकारलाई अझ सही रूपमा देखाउने नक्सा प्रयोग गर्न समर्थन गरेको छ।
शुक्रबार भएको मतदानमा नेपालसहित १६४ देशले प्रस्तावको पक्षमा मतदान गरेका छन्। चीन, भारत, फ्रान्स, बेलायत, जर्मनी, जापान, क्यानडा, अस्ट्रेलिया, रूस, ब्राजिललगायतका ठुला देशले पनि प्रस्तावको समर्थन गरेका छन्। अमेरिकाले भने विपक्षमा मतदान गरेको छ। इस्टोनिया, जर्जिया, लिथुआनिया, मोल्डोभा, सर्बिया र युक्रेनले मतदानमा भाग लिएनन्।
टोगोले अघि बढाएको प्रस्तावले १६औं शताब्दीदेखि व्यापक रूपमा प्रयोग हुँदै आएको मर्केटर नक्साको विकल्पका रूपमा ‘इक्वल अर्थ’ जस्ता नक्सा प्रयोग गर्न सरकार, विद्यालय, अन्तर्राष्ट्रिय संस्था र प्रविधि कम्पनीलाई प्रोत्साहन गरेको छ।
मर्केटर नक्सा सन् १५६९ मा फ्लेमिस नक्साकार जेरार्डस मर्केटरले समुद्री यात्राका लागि तयार गरेका थिए। यो नक्सा दिशाका लागि उपयोगी भए पनि पृथ्वीको गोलाकार सतहलाई समथर नक्सामा देखाउँदा भूभागको आकारमा ठूलो विकृति आउने गर्छ। ध्रुव नजिकका क्षेत्र ठुला र भूमध्यरेखा नजिकका क्षेत्र साना देखिन्छन्।
उदाहरणका लागि, मर्केटर नक्सामा अफ्रिका र ग्रीनल्यान्ड लगभग उस्तै आकारका देखिन्छन्। तर वास्तविकतामा अफ्रिका ग्रीनल्यान्डभन्दा करिब १४ गुणा ठूलो छ। ‘इक्वल अर्थ’ नक्साले महादेशहरूको क्षेत्रफललाई तुलनात्मक रूपमा वास्तविक अनुपातमा देखाउने प्रयास गर्छ।
अफ्रिकी देशहरूले लामो समयदेखि विश्व नक्सामा अफ्रिकाको वास्तविक आकार सही रूपमा देखाउनुपर्ने माग गर्दै आएका थिए। टोगोको नेतृत्वमा अघि बढाइएको अभियानलाई अफ्रिकी संघले पनि समर्थन गरेको थियो।
टोगोका विदेशमन्त्री रोबर्ट डसीले नक्साले मानिसले संसारलाई बुझ्ने तरिकामा प्रभाव पार्ने बताएका छन्। ‘नक्साले संसारबारे हाम्रो बुझाइलाई आकार दिन्छ। यसले शिक्षा, कल्पना र सामूहिक धारणालाई प्रभावित गर्छ,’ उनले भनेका छन्।
फ्रान्सका विदेशमन्त्री जीन-नोएल ब्यारोले पनि प्रस्तावको समर्थन गरेका छन्। उनका अनुसार फ्रान्सले आफ्ना विश्व नक्सामा मर्केटर प्रक्षेपण प्रयोग गर्न छाड्ने योजना अघि सारेको छ। तर संयुक्त राष्ट्रसंघको प्रस्ताव बाध्यकारी भने छैन। यसले मर्केटर नक्सामा प्रतिबन्ध लगाएको वा कुनै एक नक्सा अनिवार्य गरेको छैन।
भूगोलविद्हरूका अनुसार कुनै पनि समथर नक्साले पृथ्वीको गोलाकार सतहलाई पूर्ण रूपमा सही देखाउन सक्दैन। कुन नक्सा प्रयोग गर्ने भन्ने कुरा त्यसको उद्देश्यमा निर्भर हुन्छ। अमेरिकाले भने प्रस्तावको विरोध गर्दै संयुक्त राष्ट्रसंघले विश्वका वास्तविक समस्या समाधानमा ध्यान दिनुपर्ने तर्क गरेको छ।
संयुक्त राष्ट्रसंघको यो निर्णयले विद्यालयका पाठ्यपुस्तक, सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म र अन्य सामग्रीमा महादेशहरूको वास्तविक आकारलाई तुलनात्मक रूपमा सही देखाउने नक्साको प्रयोग बढाउने अपेक्षा गरिएको छ।
प्रकाशित: २० भाद्र २०८३ ०७:०६ शनिबार