अमेरिकाले बम हमलाबाट इरानको परमाणु कार्यक्रम पूर्णरूपमा नष्ट गर्न नसकेको खबर बाहिरिएको छ।
उसले इरानका तीन प्रमुख परमाणु केन्द्र फोर्दो, नतान्ज र इस्फहानमा जमिनमा ६१ मिटर गहिरो छिर्न सक्ने बंकर बस्टर बमले हमला गरे पनि ती पूर्णरूपमा नष्ट गर्न नसकेको विभिन्न समाचार संस्थाले दाबी गरेका छन्।
पेन्टागनको प्रारम्भिक गोप्य मूल्याङ्कन अनुसार, अमेरिकी बम हमलाबाट इरानको परमाणु कार्यक्रम पूर्णरूपमा नष्ट नभएको खबर बाहिरिएको हो।
समाचार एजेन्सीले पेन्टागनको रक्षा गुप्तचर निकायसँग जोडिएका स्रोतको हवाला दिँदै लेखेको छ कि शनिबारका बम हमलाबाट इरानको संवर्धित युरेनियमको भण्डार नष्ट भएको छैन। पेन्टागन अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय हो।
सिएनएन, न्यूयोर्क टाइम्सजस्ता ठूला अमेरिकी सञ्चारमाध्यमले पनि रक्षा गुप्तचर निकायको हवाला दिँदै यस्तै प्रतिवेदन सार्वजनिक गरेका छन्। ह्वाइट हाउसले भने बाहिरिएको खबर ‘पूर्णरूपमा गलत’ र राष्ट्रपति ट्रम्पलाई कमजोर पार्ने षड्यन्त्र रहेको बताएको छ।
मध्यपूर्वका लागि ट्रम्पका विशेष दूत स्टीव विटकाफले इरानमाथिको अमेरिकी आक्रमणबारे चुहिएको मूल्याङ्कनलाई ‘देशद्रोह’को संज्ञा दिएका छन्।
पेन्टागनको चुहिएको प्रतिवेदनमा के छ?
प्रारम्भिक गोप्य प्रतिवेदनले अमेरिकी प्रशासनको यस दाबीमा प्रश्न उठाएको छ कि इरानको परमाणु कार्यक्रम पूर्णरूपमा ध्वस्त पारिएको छ। अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्र (फोर्दो, नतान्ज र इस्फहान) मा जमिनमा ६१ मिटर गहिरो छिर्न सक्ने बंकर बस्टर बमले हमला गरेको थियो।
तर स्रोतका अनुसार अधिकांश केन्द्रक (सेंट्रीफ्युज) सुरक्षित छन् र हमला सतहका संरचनासम्म सीमित भएको देखिन्छ। दुई ठूला परमाणु केन्द्रका ढोका बन्द गरिएका छन् र केही संरचनामा क्षति पुगे पनि भूमिगत संरचना भने सुरक्षित छन्।
प्रतिवेदनमा उल्लेख छ कि हमला हुनुअघि इरानले आफ्नो संवर्धित युरेनियमको केही भाग अन्यत्र सारिसकेको थियो। हमलामा अमेरिकाले जिबियू–५७ नामक विश्वकै ठूलो बंकर बस्टर बम प्रयोग गरेको थियो।
उपग्रह तस्बिरमा फोर्दो साइटमा ६ ठूला खाल्डा देखिन्छन् तर भित्री संरचना कति क्षतिग्रस्त भएको भन्ने स्पष्ट छैन।
इरानी सरकारी टेलिभिजनका एक अधिकारीले भनेका थिए कि ती केन्द्र पहिल्यै खाली गरिएका थिए र ठूलो क्षति भएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ती समाचार संस्थाले झूटो समाचार फैलाइरहेको आरोप लगाएका छन्। यीले इतिहासकै सबैभन्दा सफल सैन्य अभियानलाई बदनाम गर्न खोजिरहेको उनले बताए। एजेन्सी
प्रकाशित: ११ असार २०८२ १२:२८ बुधबार