अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान-इजरायल द्वन्द्वमा अमेरिका संलग्न हुन सक्ने बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मध्यस्थताका लागि तयार रहेको बताएका हुन्।
एबीसी न्यूजका अनुसार ट्रम्पले इरानको आणविक कार्यक्रमबारे छलफल भइरहेको जनाए। उनले एबीसी न्यूजकी संवाददाता रचेल स्कटसँगको क्यामेराबाहिरको कुराकानीमा मध्यपूर्वका कट्टर शत्रुहरूबिचको द्वन्द्वमा ‘हामी संलग्न हुन सक्छौं’ भने।
ट्रम्पले अमेरिका हाल सैन्य कारबाहीमा संलग्न नरहेको स्पष्ट पारे। उनले भने, ‘पुटिनले द्वन्द्वमा मध्यस्थता गर्न सक्छन् र उनी तयार छन्। उनले मलाई यसबारे फोन गरेका छन्। हामीले यो विषयमा लामो छलफल गरेका छौं।’
इजरायलले इरानको आणविक र सैन्य संरचना कमजोर पार्ने उद्देश्यले गरेको ठूलो आक्रमणपछि आइतबार लगातार तेस्रो दिन दुवै देशबिच तीव्र हवाई आक्रमण भएको छ। आणविक मामिलामा मध्यस्थता गरिरहेको ओमानले इरान र अमेरिकाबिच यो साता हुने भनिएको छैटौं चरणको वार्ता रद्द भएको जनाएको छ। तर, ट्रम्पले दुवै पक्षबिच छलफल जारी रहेको बताए।
तेहरानलाई वार्तामा ल्याउन समयसीमा तोकिएको छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले एबीसीसँग भने, ‘हैन, वार्ताको कुनै समयसीमा तोकिएको छैन। उनीहरू छलफल गरिरहेका छन् र सम्झौता गर्न चाहन्छन्। कुराकानी जारी छ,’ स्कटले ट्रम्पलाई उद्धृत गर्दै लेखिन्।
ट्रम्पले इजरायल र इरानबिचको द्वन्द्वले आणविक सम्झौताका लागि वार्तालाई गति दिन ‘आवश्यक’ रहेको बताए। उनले थपे, ‘यसले सम्झौतालाई छिटो अघि बढाउन बाध्य पार्न सक्छ।’ एएफपी
प्रकाशित: २ असार २०८२ ०९:५२ सोमबार