इजरायलमाथि इरानले शनिबार रातिदेखि आइतबार बिहानसम्म गरेको लगातार हवाई आक्रमणमा बालबालिकासहित १० जनाको मृत्यु भएको छ।
टाइम्स अफ इजरायलका अनुसार दुई सयभन्दा बढी घाइते भएका छन्। इरानले गरेको मिसाइल र ड्रोन आक्रमणका कारण देशभरका लाखौं मानिसहरू आश्रयस्थलमा लुक्न बाध्य भएका थिए।
इजरायलको मध्य क्षेत्रमा, तेल अभिव नजिकैको बट यम र रामत गानमा भएको आक्रमणमा ६ जना मारिएको र दर्जनौं घाइते भएको जनाइएको छ। हाइफा र तेल अभिव नजिकैका क्षेत्रमा पनि क्षेप्यास्त्र प्रहार भएको थियो। सो क्षेत्रमा ठूलो क्षति पुगेको छ।
शनिबार राति पश्चिमी ग्यालिली क्षेत्रमा भएको आक्रमणमा एक तीन तले भवन ध्वस्त भएको छ। जसकारण चार जनाको मृत्यु भएको इजरायली प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हाइफा नजिकैको एक घरमा मिसाइल प्रहार हुँदा २० वर्षीया एक महिलासहित थप मानिसहरू घाइते भएका छन्।
इजरायली सेनाले इरानबाट प्रहार गरिएका सयौं मिसाइल र ड्रोनहरूमध्ये अधिकांशलाई आफ्नो हवाई रक्षा प्रणाली, आइरन डोममार्फत रोकेको दाबी गरेको छ। तर केही मिसाइलहरूले रक्षा प्रणालीलाई छल्दै नागरिक क्षेत्रमा क्षति पुर्याएका छन्।
अर्कोतिर इजरायलले तेहरानस्थित इरानको रक्षा मन्त्रालयको मुख्यालय, शाह्रान तेल डिपो र अन्य सैन्य तथा आणविक सुविधाहरूमा जवाफी आक्रमण गरेको छ। इरानले इजरायलको आक्रमणमा ७८ जनाको मृत्यु भएको भनेको छ। आक्रमणमा तीन सय २० भन्दा बढी घाइते भएका छन्। त्यहाँ एक १४ तले भवन ध्वस्त हुँदा २९ बालबालिकासहित ६० जनाको मृत्यु भएको दाबी गरिएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्धको आक्रमणलाई ‘अपरेशन राइजिङ लायन’ को नाम दिएका छन्। इरानले ‘अपरेशन ट्रु प्रोमिस ३’ नाम दिएको छ। इरानका विदेशमन्त्री अब्बास अराक्चीले इजरायलको आक्रमणले अमेरिका र इरानबीच ओमानमा हुने भनिएको आणविक वार्ता भंग भएको बताएका छन्। यो तनावले क्षेत्रीय द्वन्द्व थप चर्किने सम्भावना बढाएको छ। एजेन्सी
प्रकाशित: १ असार २०८२ १५:०१ आइतबार