अन्तर्राष्ट्रिय

अहमदाबाद विमान दुर्घटना : पूर्वमुख्यमन्त्री रुपानीको शव पहिचान, धेरैको बाँकी

अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानीको शव पहिचान भएको छ। परिवारका सदस्यसँग डीएनए परीक्षण मिलेपछि उनको शवको पहिचान भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उनको शव परिवारलाई हस्तान्तरण गरिएको छ भने अन्तिम संस्कार राजकोटमा गरिने बताइएको छ।

यस दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुगेको छ। आइतबार बिहानसम्म २४८ शवको डीएनए नमूना लिइएको थियो। जसमध्ये ३१ वटा मिलेका छन् भने २० वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। उनीहरूको मृत्यु प्रमाणपत्र पनि उपलब्ध गराइएको छ।

सुरक्षाका साथ एम्बुलेन्सहरू मार्फत शवहरूलाई उनीहरूको गृहनगरमा पुर्‍याइँदैछ। यसका लागि २३० टोलीहरू गठन गरिएको छ, जुन मृतकका आफन्तहरूसँग प्रत्यक्ष सम्पर्कमा छन्। १९२ एम्बुलेन्स र सवारी साधनहरू तयारी अवस्थामा छन्। दुर्घटनामा ज्यान गुमाएका ११ विदेशी नागरिकका आफन्तहरू आज अहमदाबाद पुग्न सक्छन्।

शव राख्नको लागि १७० वटा कफिन बनाउने अर्डर दिइएको छ। यी मध्ये लगभग १०० वटा कफिन बडोदराबाट अहमदाबाद ल्याइएको छ। बाँकी कफिन बनाउने काम भइरहेको छ। एजेन्सी

प्रकाशित: १ असार २०८२ १४:४३ आइतबार

#Nagariknews #NepaliNews