इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले इजरायलमाथि ठूलो क्षेप्यास्त्र आक्रमण गरेको पुष्टि गरेको छ। गार्डको विज्ञप्तिमा इजरायलका ‘दर्जनौँ सैन्य सुविधा, हवाई अड्डा र अन्य लक्ष्य’ मा आक्रमण गरिएको उल्लेख छ। यो कारबाहीलाई ‘ट्रु प्रोमिस ३’ नाम दिइएको छ।
इजरायली सेनाले इरानबाट भएको क्षेप्यास्त्र आक्रमण रोक्न आफ्नो रक्षा प्रणाली सक्रिय रहेको जनाएको छ। टाइम्स अफ इजरायलका अनुसार आक्रमणमा तेल अवीव र जेरुसेलम क्षेत्रमा ६० भन्दा बढी व्यक्ति घाइते भएका छन्। एक महिलाको मृत्यु पनि भएको छ। घाइतेहरूलाई अस्पताल पुर्याइएको छ। सेनाले नागरिकहरूलाई अर्को सूचना नभएसम्म घरभित्रै वा सुरक्षित स्थानमा रहन निर्देशन दिएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार जेरुसेलमको आकाशमा चम्किलो प्रकाश र विस्फोटको आवाज सुनिएको छ। इरानले यो आक्रमणलाई इजरायलले हालै गरेको सैन्य कारबाही ‘अपरेशन राइजिङ लायन’ को जवाफ भनेको छ।
इजरायलको अघिल्लो आक्रमण
इरानको आक्रमणअघि इजरायलले इरानमा ठूलो सैन्य कारबाही गरेको थियो। इजरायली वायुसेनाले शुक्रवार बिहान इरानको राजधानी तेहरान, इस्फहान र फोर्डो क्षेत्रमा रहेका आणविक सुविधाहरूमा हवाई आक्रमण गरेको थियो। इरानको सरकारी मिडियाले इस्लामिक रिभोलुसनरी गार्डका कमान्डर हुसैन सलामीसहित दुई आणविक वैज्ञानिक, मोहम्मद मेहदी तेहरानची र फरदून अब्बासीको मृत्यु भएको पुष्टि गरेको छ।
इरानको उत्तरपश्चिमी शहर तब्रिजमा रहेको सैन्य हवाई अड्डामा पनि इजरायली आक्रमण भएको छ। उक्त क्षेत्रबाट कालो धुँवाको मुस्लो उठिरहेको देखिएको छ। इरानको प्रमुख युरेनियम संवर्द्धन केन्द्र नातान्जमा पनि दोस्रोपटक आक्रमण भएको जनाइएको छ। इजरायली वायुसेनाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै इरानी मिसाइल प्रक्षेपणकर्ता र सैन्य प्रतिष्ठानविरुद्ध कारबाही जारी रहेको र इरानलाई ‘विश्वको लागि खतरा’ को रूपमा वर्णन गरेको छ।
इरानको चेतावनी
इरानका सर्वोच्च नेता अली खामेनीले इजरायललाई ‘ठूलो क्षति’ पुर्याउने चेतावनी दिएका छन्। इरानका विदेश मन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्र सङ्घलाई पत्र लेख्दै इजरायली आक्रमणलाई ‘युद्धको घोषणा’ को संज्ञा दिएका छन्। इरानले इजरायली आक्रमणमा तेहरानका आवासीय क्षेत्रमा महिला र बालबालिकासहित ७८ जनाको मृत्यु भएको र ३२० जना घाइते भएको दाबी गरेको छ। इरानले इजरायल र अमेरिकाले यो आक्रमणको ‘मूल्य चुकाउनुपर्ने’ बताएको छ।
द्वन्द्वको पृष्ठभूमि
इरान र इजरायल बिचको तनाव दशकौँ पुरानो छ। सन् १९८२ को लेबनान युद्धदेखि इरानले हिजबुल्लाह र हमासजस्ता समूहलाई समर्थन गर्दै आएको छ, जसलाई इजरायलले आफ्नो सुरक्षाको लागि खतरा मान्छ। हालैका वर्षहरूमा इरानको आणविक कार्यक्रम र इजरायलको त्यसविरुद्धको कारबाहीले द्वन्द्वलाई थप जटिल बनाएको छ। इजरायलले इरानको आणविक कार्यक्रमलाई आफ्नो अस्तित्वमाथिको खतरा ठान्दै आएको छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले इरानलाई आणविक हतियार विकास गर्न नदिने प्रतिबद्धता दोहोर्याएका छन्।
वर्तमान अवस्था
इरानको ‘ट्रु प्रोमिस ३’ आक्रमण र इजरायलको ‘अपरेशन राइजिङ लायन’ कारबाहीले मध्यपूर्वमा तनाव चरम सीमामा पुगेको छ। इजरायलले देशभर आपतकाल घोषणा गरेको छ, भने इरानले थप आक्रमणको चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय समुदायले यो द्वन्द्व राेक्न कूटनीतिक पहल गर्नुपर्ने आवाज उठिरहेको छ। यो समाचार तयार पार्दासम्म दुवै पक्षबाट एक अर्कामाथि आक्रमण जारी राखेका छन्। एजेन्सी
प्रकाशित: ३१ जेष्ठ २०८२ ०७:२२ शनिबार