महाराष्ट्रको सानो खेतमा मीराबाई खिन्डकरले खडेरीले बाली नष्ट भएपछि र उनका पति अमोलले आत्महत्या गरेपछि उनको जमिनले ऋणमात्रै दिएको बताइन्। भारतमा किसान आत्महत्याको इतिहास लामो छ। धेरैजसो किसान एक बाली नष्ट हुँदा संकटमा पुग्छन्, तर जलवायु परिवर्तनले ल्याएको चरम मौसमले थप दबाब सिर्जना गरेको छ।
पानीको कमी, बाढी, बढ्दो तापक्रम र अनियमित वर्षाले उत्पादन घट्दा र ऋणको बोझले भारतको एक अर्ब ४० करोड जनसंख्याको ४५ प्रतिशतलाई रोजगारी दिने कृषि क्षेत्र प्रभावित भएको छ। तीन एकड सोयाबिन, कोदो र कपासको खेत गर्मीमा सुकेपछि मीराबाईका पति अमोललाई साहुकारको ऋण लाग्यो, जुन खेतको वार्षिक आम्दानीको सयौं गुणा थियो। गत वर्ष उनले विष खाए।
‘जब उनी अस्पतालमा थिए, मैले सबै देवतासँग उनलाई बचाउन प्रार्थना गरें,’ ३० वर्षीया मीराबाईले गला अवरुद्ध पार्दै भनिन्। एक हप्तापछि अमोलको मृत्यु भयो। उनले मीराबाई र तीन सन्तान छोडे। मीराबाईसँग उनको अन्तिम कुराकानी ऋणकै बारेमा थियो। महाराष्ट्रको मराठवाडा, जहाँ एक करोड ८० लाख जनसंख्या छ, उर्वर खेतीका लागि परिचित थियो। तर, यहाँ यस्ता त्रासदी दैनिक दोहोरिरहेका छन्।
नयाँदिल्लीको सेन्टर फर साइन्स एन्ड इनभायरोन्मेन्टका अनुसार गत वर्ष चरम मौसमी घटनाले भारतभर ३२ लाख हेक्टर बाली प्रभावित भयो, जुन बेल्जियमभन्दा ठूलो क्षेत्र हो। यसको ६० प्रतिशतभन्दा बढी महाराष्ट्रमा थियो। ‘गर्मी चरम छ, उत्पादन पर्याप्त छैन,’ अमोलका भाइ बालाजी खिन्डकरले भने, ‘खेतमा सिँचाइ गर्न पानी छैन। वर्षा ठीक हुँदैन।’
जोखिम बढ्दै
कृषिमन्त्री शिवराज सिंह चौहानका अनुसार सन् २०२२–२०२४ मा मराठवाडामा तीन हजार ९० किसानले आत्महत्या गरे, जुन दैनिक औसत तीनजना हो। सरकारी तथ्यांकले आत्महत्याका कारण स्पष्ट गर्दैन, तर विश्लेषकहरूले विभिन्न कारक औंल्याउँछन्। ‘भारतमा किसान आत्महत्या कृषिमा आम्दानी, लगानी र उत्पादकताको संकटको परिणाम हो,’ टाटा इन्स्टिच्युटका प्राध्यापक आर रामकुमारले भने।
भारतमा साना खेतहरूमा खेती शताब्दीऔंदेखि सही मौसममा निर्भर छ। ‘जलवायु परिवर्तनले खेतीमा जोखिम बढाएको छ,’ रामकुमारले भने, ‘यसले बाली नष्ट र अनिश्चितता ल्याएर साना किसानको अर्थशास्त्र कमजोर बनाएको छ।’ उनले राम्रो बीमा योजना र कृषि अनुसन्धानमा लगानीबाट सरकारले किसानलाई सहयोग गर्न सक्ने बताए। ‘कृषि मनसुनसँग जुवा खेल्ने काम हुनु हुँदैन,’ उनले भने।
अनिश्चित मौसममा किसानहरू मल वा सिँचाइमा लगानी गर्छन्, तर बैंकहरू यस्ता ऋणीहरूलाई कर्जा दिन हिच्किन्छन्। केही साहुकारकहाँ पुग्छन्, जसले उच्च ब्याज लिन्छन् र बाली नष्ट हुँदा संकट निम्तिन्छ। ‘केवल खेतीले गुजारा चलाउन गाह्रो छ,’ मीराबाईले टिनको छानो भएको झुपडीमा भनिन्।
उनका पतिको ऋण आठ हजार डलरभन्दा बढी थियो, जबकि भारतमा कृषि गृहस्थीको औसत मासिक आम्दानी करिब एक सय २० डलर छ। मीराबाईले अन्य खेतमा मजदुरी गर्छिन्, तर ऋण तिर्न सकिनन्। ‘ऋणका किस्ता थुप्रिँदै गए,’ उनले भनिन्, ‘खेतबाट केही आउँदैन।’
उनी आफ्ना छोराछोरीले खेतीबाहेक अन्य काम खोजून् भन्ने चाहन्छिन्। कृषि क्षेत्र दशकौंदेखि संकटमा छ। महाराष्ट्रमा आत्महत्या दर उच्च छ, तर यो समस्या देशव्यापी छ। राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार सन् २०२२ मा कृषि क्षेत्रका ३० जनाले दैनिक आत्महत्या गरे।
मराठवाडाकै अर्को खेतमा ३२ वर्षीय शेख इमरानले गत वर्ष भाइको आत्महत्यापछि खेत सम्हालेका छन्। सोयाबिन रोप्न लिएको ऋणले उनलाई एक हजार एक सय डलरभन्दा बढी ऋण छ, तर फसल असफल भयो। वरपर इनार खन्न विस्फोटकको आवाज गुञ्जिरहन्छ। ‘पिउने पानी छैन,’ परिवारकी मुखिया खतिजाबीले भनिन्, ‘खेत सिँचाइ गर्न पानी कहाँबाट ल्याउने?’ एएफपी
प्रकाशित: २६ जेष्ठ २०८२ १३:११ सोमबार