अन्तर्राष्ट्रिय

भारतको मणिपुरमा हिंसापछि कर्फ्यू, इन्टरनेट बन्द

जातीय तनावले प्रभावित मणिपुरमा कट्टरपन्थी समूहका केही सदस्यको गिरफ्तारीलाई लिएर प्रदर्शनकारी र सुरक्षा बलबिच झडप भएपछि इन्टरनेट बन्द र कर्फ्यू लगाइएको प्रहरीले आइतबार जनाएको छ।

भारतको उत्तरपूर्वमा रहेको मणिपुरमा दुई वर्षभन्दा बढी समयदेखि मुख्यतः हिन्दू मैतेई र मुख्यतः इसाई कुकी समुदायबिच  बारम्बार झडप भइरहेको छ। यी झडपमा दुई सय ५० भन्दा बढीको मृत्यु भएको छ।

शनिबार कट्टरपन्थी मैतेई समूह अरम्बाई तेङ्गोलका एक कमान्डरसहित पाँच सदस्यको गिरफ्तारीको खबरपछि पछिल्लो हिंसा सुरु भएको थियो।
उनीहरूको रिहाइको माग गर्दै आक्रोशित भिडले प्रहरी चौकीमा आक्रमण गर्‍यो, इम्फालका केही भागमा बसमा आगजनी गर्‍यो र सडक अवरुद्ध गर्‍यो। मणिपुर प्रहरीले ‘बिग्रँदो कानून र व्यवस्था’ का कारण इम्फाल पश्चिम र विष्णुपुरसहित पाँच जिल्लामा कर्फ्यू घोषणा गरेको छ।

‘जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ। नागरिकलाई यो आदेश पालना गर्न अनुरोध गरिएको छ,’ प्रहरीले विज्ञप्तिमा भनेको छ। कुकी समुदायविरुद्ध हिंसाको योजना बनाएको आरोप लागेको अरम्बाई तेङ्गोलले उपत्यकाका जिल्लामा १० दिनको बन्द घोषणा गरेको छ।

राज्यको गृह मन्त्रालयले अशान्ति नियन्त्रण गर्न अस्थिर जिल्लामा सबै इन्टरनेट र मोबाइल डाटा सेवा पाँच दिनका लागि बन्द गर्ने आदेश दिएको छ। सन् २०२३ मा हिंसाको सुरुवातमा मणिपुरमा महिनौँसम्म इन्टरनेट बन्द गरिएको थियो। हिंसाले सरकारी तथ्याङ्कअनुसार करिब ६० हजार मानिसलाई घर छोड्न बाध्य बनाएको थियो। हजारौँ बासिन्दा अझै चलिरहेको तनावका कारण घर फर्कन सकेका छैनन्।

मैतेई र कुकी समुदायबिच को लामो समयदेखिको तनाव जमिन र सरकारी जागिरको प्रतिस्पर्धालाई लिएर बढेको छ। अधिकारकर्मीले स्थानीय नेताले राजनीतिक फाइदाका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन्।

प्रकाशित: २५ जेष्ठ २०८२ १५:५५ आइतबार

#NagarikNews #Manipur