अन्तर्राष्ट्रिय

अमेरिकामा ‘फ्री प्यालेस्टाइन’ को नारा लगाउँदै भीडमाथि ज्वलनशील पदार्थ प्रहार, ८ घाइते

इजरायली विदेशमन्त्री गिदोन सार

इजरायलका विदेशमन्त्री गिदोन सारले अमेरिकाको कोलोराडो राज्यको बोल्डर सहरमा भएको हिंसात्मक आक्रमणलाई ‘यहूदीविरोधी’ आतंकवादी कार्य भनेका छन्। 

सामाजिक सञ्जाल एक्समा उनले लेखे, ‘बोल्डरमा यहूदी समुदायलाई लक्षित यो आक्रमण अत्यन्त दुखद र यहूदीविरोधी छ। म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु।’ उनले सञ्चारमाध्यममा फैलिएको गलत जानकारी र ‘रक्तपातपूर्ण झूट’ले यस्ता घृणित कार्यलाई बढावा दिएको आरोप लगाए। 

बीबीसीका अनुसार बोल्डरको पर्ल स्ट्रिट मलमा ‘इजरायली बन्धक’को समर्थनमा आयोजित शान्तिपूर्ण मार्चमा एक व्यक्तिले ‘फ्री प्यालेस्टाइन’ नारा लगाउँदै ज्वलनशील पदार्थ प्रहार गरेका थिए। त्यसबाट भएको आगजनीमा आठ जना घाइते भएका हुन्। एक जनाको अवस्था गम्भीर छ। 

घाइते चार महिला र चार पुरुषको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। एफबीआईले यो घटनालाई आतंकवादी हमलाको रूपमा अनुसन्धान गरिरहेको भनेको छ। डेनभर फिल्ड कार्यालयका प्रमुख मार्क मिचालेकले भने, ‘यो लक्षित हिंसात्मक कार्य हो, र हामी यसलाई आतंकवादी घटनाको रूपमा हेर्दैछौं।’

अभियुक्त मोहम्मद सोलिमानलाई हिरासतमा लिइएको छ। उनलाई सामान्य चोट लागेकाले अस्पताल भर्ना गरिएको छ। बोल्डर प्रहरी प्रमुख स्टीफन रेडफर्नले पूर्ण जानकारीबिना घटनालाई आतंकवादी हमला भन्न हतार हुने बताए। उनले भने, ‘हामीले अभियुक्तलाई हिरासतमा लिएका छौं, र थप जानकारी संकलन भइरहेको छ।’

विदेशमन्त्री सारले अमेरिकास्थित इजरायली राजदूत र लस एन्जलसको महावाणिज्य दूतावाससँग समन्वय गरिरहेको बताएका छन्। उनले विश्व समुदायलाई यस्ता हिंसात्मक र यहूदीविरोधी कार्य रोक्न एकजुट हुन आह्वान गरे। कोलोराडोका गभर्नर जारेड पोलिसले पनि यो घटनालाई यहूदी समुदायमाथिको आतंकवादी हमलाको रूपमा निन्दा गरेका छन्। बीबीसी

प्रकाशित: १९ जेष्ठ २०८२ १२:०५ सोमबार

#NagarikNews #Gazawar