अन्तर्राष्ट्रिय

युक्रेनी ड्रोन आक्रमण : रुसले स्वीकार्‍यो पाँच सैन्य अड्डामा भएको क्षति

रुसी रक्षा मन्त्रालयले १ जुनमा युक्रेनले पाँच सैन्य हवाई अड्डालाई लक्षित गरेर गरेको ड्रोन आक्रमणमा भएको क्षतिबारे जानकारी गराएको छ। मन्त्रालयका अनुसार केही रणनीतिक विमानमा क्षति पुगेको छ। 

मस्काेले मुर्मन्स्क, इर्कुत्स्क, इभानोभो, रियाजान र अमुर क्षेत्रका हवाई अड्डामा ड्रोन प्रयोग गरेर ‘आतंकवादी आक्रमण’ गरिएकाे आरोप लगाएको छ। रुसले इभानोभो, रियाजान र अमुर क्षेत्रका आक्रमण विफल पारेको दाबी गरेको छ। 

तर मुर्मन्स्कको ओलेन्या र इर्कुत्स्कको बेलाया हवाई अड्डामा भएको आक्रमण रोक्न सकेन। मन्त्रालयले कुनै मानविय क्षति भने नभएको जानकारी गराएको छ। आक्रमणमा संलग्न भएको आरोपमा केही संदिग्धलाई पक्राउ गरिएको छ।

युक्रेनले यो गोप्य कारबाहीलाई ‘स्पाइडर वेब’ नाम दिएको छ। उसको दाबी अनुसार ४१ रुसी सैन्य विमान (ए-५० राडार विमान, टीयू-९५, टीयू-२२एम३ र टीयू-१६०) जस्ता रणनीतिक बमवर्षक नष्ट भएका छन्। युक्रेनले ती विमानले युक्रेनी सहरमा बारम्बार क्रूज मिसाइल आक्रमण गर्दै आएका थिए। युक्रेनले यो आक्रमणमार्फत रुसलाई करिब ७ अर्ब अमेरिकी डलरको क्षति पुर्‍याएको अनुमान गरेको छ।

यो कारबाहीको तयारी १८ महिनादेखि चलिरहेको जानकारी किभले दिएको छ। युक्रेनले ड्रोनलाई काठका संरचनामा लुकाएर ट्रकमा रुसभित्र तस्करी गरिएको थियो। रिमोटमार्फत ती संरचनाको छत खोलेर ड्रोन उडाइएको थियो। 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र सुरक्षा-सेवा प्रमुख भासिल माल्युकले यो कारबाहीको नेतृत्व गरेका थिए। युक्रेनले ११७ ड्रोन प्रयोग गरेर कृत्रिम बुद्धिमत्ताको सहयोगमा विमानका कमजोर भागमा आक्रमण गरेको थियो।

यो आक्रमण भएको साइबेरियाको बेलाया हवाई अड्डा युक्रेनबाट चार हजार किलोमिटर टाढा पर्छ। युक्रेनले यो आक्रमणलाई रुसी बमवर्षकविरुद्ध आत्मरक्षाको कदम भनेको छ। सुरक्षा-सेवा स्रोतले भनेको छ, ‘हामीले रुसी बमवर्षकलाई नष्ट गर्न ठूलो मात्रामा विशेष कारबाही सञ्चालन गरेका छौं, जसले हरेक रात युक्रेनी सहरमा बम खसाल्छन्।’

यो आक्रमण २ जुनमा टर्कीको इस्तानबुलमा हुने रुस-युक्रेन शान्ति वार्ताको ठीक अघि भएको हो। युक्रेनी रक्षा मन्त्री रुस्तेम उमेरोभले वार्ता टोलीको नेतृत्व गर्नेछन्। रुसी बमवर्षक विशेषगरी टीयू-९५ जस्ता विमानको उत्पादन रुसले हाल गर्न नसक्ने भएकोले यो आक्रमणले रुसको रणनीतिक हवाई क्षमतामा ठूलो धक्का पुर्‍याएको छ। एजेन्सी

प्रकाशित: १९ जेष्ठ २०८२ १०:०७ सोमबार

#NagarikNews #Russia-Ukraine War