राहत सामग्री लिन जम्मा भएका प्यालेष्टिनीमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा २६ जनाको मृत्यु भएको छ । घाइतेको संख्या यकिन नभएपछि एक सय पचासभन्दा बढीलाई उपचारका लागि अस्पताल लगिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गाजाको दक्षिणी सहर रफाहमा रहेको अमेरिकी समर्थन प्राप्त सहायता वितरण केन्द्र नजिक इजरायली ट्याङ्कबाट भिडमा गोली चलेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सो समय हजारौं प्यालेस्टिनी मानवीय सहायता लिन जम्मा भएका थिए ।
यो घटना रफाहको पश्चिम क्षेत्रमा भएको हो एक स्थानीय पत्रकारका अनुसार, स्थानीय समयअनुसार बिहान करिब ४ः३० अलआलम राउन्डअबाउट नजिकै, गाजा ह्युमानिटेरियन फाउण्डेशनद्वारा सञ्चालित सहायता केन्द्र नजिक, मानिसहरूको भीड जम्मा भएको थियो। सोही समय आइपुगेका इजरायली ट्याङ्कहरूभित्रबाट गोली चलेका थियो ।
इजरायलको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा उद्दार टोलीहरू पुग्न नसकेपछि स्थानीयले आफैं उद्दार गरी घाइतेहरुलाई अस्पताल पुर्याएका थिए । घाइतेहरूलाई खान युनिसस्थित अस्पतालमा उपचारका लागि लगिएको छ । इजरायली सेनाको आक्रमणबाट गाजाका अधिकांश अस्पतालहरु ध्वस्त भएपनि खान युनिससहित केही स्थानमा सीमित अस्पतालहरु भने जेनतेन सञ्चालनमा छन् ।
यो आक्रमणले शान्ति प्रक्रियाका लागि प्रयास गरिरहेको अमेरिका पनि सशंकित बनेको छ । यसले इजरायललाई समस्या दिन सक्ने अनुमान जानकारहरुको छ ।
प्रकाशित: १८ जेष्ठ २०८२ १३:२१ आइतबार