अन्तर्राष्ट्रिय

भारतले पहिलोपटक स्वीकार गर्‍यो ‘अपरेशन सिन्दूर’ मा विमान गुमाएको कुरा

विशेष संसद अधिवेशनको माग

सिंगापुरमा आयोजित साङ्ग्रि–ला संवादमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) अनिल चौहानले ‘अपरेशन सिन्दूर’का क्रममा पाकिस्तानसँगको झडपमा भारतीय लडाकु विमान गुमाएको कुरा स्वीकार गरेका छन्। 

उनले पाकिस्तानको दाबीलाई भने खण्डन गरेका छन्। पाकिस्तानले ६ भारतीय विमान खसालेको भनेर गरेको दाबीलाई खण्डन गरेका हुन्। तर उनले कुन विमान कति संख्यामा खसालिएको थियो भन्ने कुरा खुलाउन मानेका छैनन्। 

उनले भनेका छन्, ‘महत्त्वपूर्ण कुरा यो होइन कि कति विमान खसालिए, बरु ती किन खसालिए भन्ने कुरा महत्त्वपूर्ण हाे,’ उनले भने, ‘हामीले प्राविधिक गल्ती पहिचान गर्‍यौँ, तुरुन्तै सच्यायौँ र दुई दिनभित्र लामो दूरीबाट शत्रुको स्थानमा प्रभावकारी प्रहार गर्‍यौँ।’ उनले थपे, ‘पाकिस्तानसँग कूटनीतिक सम्बन्ध कायम राख्ने युग अब समाप्त भएको छ।’

उनको भिडियोपछि कांग्रेसले विशेष संसद अधिवेशनको माग गरेको छ। ‘सीडीएसले लडाकु विमान गुमाएको स्वीकार गरेका छन्। मोदी सरकारले यो तथ्य किन लुकाइरहेको छ? यस्ता प्रश्नको जवाफ दिन विशेष अधिवेशन आवश्यक छ,’ कांग्रेसले लेखेको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले ७ मेमा अपरेशन सिन्दूरका दिन संसदमा भनेका थिए, ‘हामीले भारतको आक्रमणको जवाफमा ५ भारतीय लडाकु विमान खसाल्यौँ, जसमा ३ राफेल थिए।’ तर पछि पाकिस्तानले ६ विमान खसालेको दाबी गरेको थियो। यी दाबी स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

चौहानले भनेका छन्, ‘हामीले गल्तीबाट सिक्यौँ, रणनीति सुधार्‍यौँ र १० मेमा सबै प्रकारका विमान र हतियार प्रयोग गरी पाकिस्तानी हवाई अड्डाहरूमा सटीक प्रहार गर्‍यौँ।’ उनले परमाणु युद्धको सम्भावनालाई खारेज गर्दै दुवै देशबिच सञ्चार खुला रहेको बताएका छन्। एजेन्सी

प्रकाशित: १८ जेष्ठ २०८२ ०७:१५ आइतबार

#Pakistan #India #NagarikNews #Operationsindoor