अन्तर्राष्ट्रिय

ट्रम्पले फेरि भने : हामीले भारत र पाकिस्तानलाई लड्न दिएनौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भारत र पाकिस्तानबिचको हालैको द्वन्द्वबारे पुन: बोलेका छन्। उनले भारत र पाकिस्तानलाई लडाइँबाट रोकेको दाबी गरेका हुन्।

‘हामीले भारत र पाकिस्तानलाई लडाइँबाट रोक्यौँ। मलाई लाग्छ, यो आणविक प्रकोपमा बदलिन सक्थ्यो,’ ट्रम्पले ओभल अफिसमा पत्रकार सम्मेलनमा भने। ‘हामी एकअर्कालाई गोली हान्ने र सम्भावित रूपमा आणविक हतियार प्रयोग गर्ने मानिसहरूसँग व्यापार गर्न सक्दैनौँ,’ उनले थपे।

२२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले ६-७ मेको राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आक्रमण गरेको थियो। जवाफमा पाकिस्तानले पनि आक्रमण गरेको थियो। दुई देशबिचको तनाव यति बढ्यो कि यो सैन्य द्वन्द्वमा बदलियो।

तर १० मेको साँझ युद्धविरामको घोषणासँगै दुई देशबिचको सैन्य द्वन्द्व समाप्त भयो। यो युद्धविरामको घोषणा पहिलो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए। उनले भारत र पाकिस्तानबिच युद्धविराम सम्झौतामा अमेरिकाले भूमिका खेलेको दाबी गर्दै आएका छन्।

तर भारतले भने अमेरिकी दाबीलाई अस्वीकार गर्दै आएको छ भने पाकिस्तान भारतले अमेरिकासँग अनुरोध गरेपछि युद्ध रोकिएको बताउँदै आएको छ। भारतीय पक्ष पाकिस्तानको अनुरोधमा दुई देशका डीजीएमओ स्तरको वार्तापछि युद्धविराम भएको उल्लेख गर्दै आएको छ। 

प्रकाशित: १७ जेष्ठ २०८२ ११:०८ शनिबार

#NarendraModi #DonaldTrump #Kashmir #ShehbazSharif