अन्तर्राष्ट्रिय

नाइजेरियामा भारी वर्षा र बाढीले एक सय १० जनाको मृत्यु

मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीले एक सय १० जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरूले यो जानकारी दिएका हुन्।

नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सी (एनएसईएमए) का प्रमुख अबुलाही बाबा-आराले धेरै घण्टासम्म वर्षा भएको बताएका छन्। ‘बढ्दो बाढीको पानीले ५० भन्दा बढी घर र त्यसमा बस्ने मानिसहरू बगाएको छ,’ उनले भने।

आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार मोक्वा शहरको टिफिन माजा र अंगुवान हौसावा क्षेत्रमा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ।

नाइजेरियाले सन् २०२२ मा पनि ठूलो बाढीको सामना गरेको थियो। उक्त बाढीमा १३ लाख मानिस घर छोड्न बाध्य भएका थिए भने छ सयभन्दा बढीको मृत्यु भएको थियो।

प्रकाशित: १६ जेष्ठ २०८२ २१:११ शुक्रबार

#NagarikNews