जलवायु परिवर्तनले विश्वका ४० प्रतिशत हिमनदी पग्लने निश्चित भएको छ। विश्वको औसत तापमान २.७ डिग्री सेल्सियसले बढेमा तीन चौथाइ हिमनदी गुम्ने अध्ययनले देखाएको छ।
तापमान वृद्धिको वर्तमान दर कायम रहेमा यो शताब्दीको अन्त्यसम्ममा औद्योगिक क्रान्तिअघिको तुलनामा तापमान २.७ डिग्री सेल्सियस बढ्ने वैज्ञानिकहरूको अनुमान छ। जीवाश्म इन्धनको प्रयोगबाट निस्कने उत्सर्जनले तापमान वृद्धिमा सबैभन्दा ठूलो भूमिका खेल्छ।
हिमनदीको क्षतिले विश्वभर गहिरो प्रभाव पार्छ। ठूलो मात्रामा हिमनदी पग्लँदा समुद्री सतह बढ्छ, जसले तटीय क्षेत्रका लाखौँ मानिसलाई बसाइँ सर्न बाध्य बनाउँछ। हिमनदीमा आधारित नदीहरू सुक्दा अर्बौँ मानिसलाई खानेपानी र सिँचाइका लागि पानीको अभाव हुने अध्ययनको निष्कर्ष छ।
पेरिस सम्झौताले तोकेको १.५ डिग्री सेल्सियस तापमान वृद्धि सीमामा राख्न सके आधा हिमनदीको बरफ बचाउन सकिन्छ, तर उत्सर्जन बढिरहेकाले यो लक्ष्य टाढिँदै गएको वैज्ञानिकहरू बताउँछन्। तापमानको एक डिग्रीको दशौँ भाग रोक्न सकिए २.७ खर्ब टन बरफ बचाउन सकिन्छ।
पश्चिमी अमेरिका र क्यानडाका ७५ प्रतिशत हिमनदी पग्लने निश्चित छ। ‘हिन्दुकुश र काराकोरमका उच्च, चिसा पहाडका हिमनदीहरू केही हदसम्म संकट थेग्न सक्छन्, तर विश्वव्यापी तापमान बढ्दा यी हिमनदी पनि ठूलो स्तरमा खुम्चिन्छन्,’ अध्ययनमा भनिएको छ।
यो अनुसन्धानले शताब्दीको अन्त्यपछि पनि हिमनदीको अवस्था आकलन गर्न बहु-मोडेल प्रयोग गरेको छ। हिमनदी पग्लँदा समुद्री सतह बढ्नुका साथै हिमताल विस्फोटको जोखिम बढ्छ, जसले तल्लो भेगका समुदाय र पारिस्थितिक प्रणालीमा असर गर्छ। हिमनदी पर्यटनमा निर्भर क्षेत्रहरू झन् प्रभावित हुनेछन्।
‘हाम्रो अध्ययनले तापमानको प्रत्येक अंश महत्त्वपूर्ण छ भन्ने स्पष्ट गर्छ। आजका छनोटहरूले शताब्दीऔँसम्म प्रभाव पार्छ र हिमनदीहरूको सुरक्षा निर्धारण गर्छ,’ बेल्जियमको भ्रिये युनिभर्सिटी ब्रसेल्सका डा. ह्यारी जेकोलारीले भने।
अस्ट्रियाको इन्सब्रक विश्वविद्यालयका डा. लिलियन शुस्टर भन्छिन्, ‘हिमनदी घट्दा जलवायु परिवर्तन आफ्नै आँखाले देख्न सकिन्छ। तर यो प्रक्रिया लामो समयसम्म समायोजन हुने भएकाले वर्तमान अवस्था देखिएभन्दा खराब छ।’
‘तत्काल कार्य गर्न ढिलो भइसकेको छैन। प्रत्येक डिग्रीको दशौँ भाग कमीले हिमनदीको क्षतिबाट हुने मानवीय पीडा कम गर्न सकिन्छ। यो सन्देशले मानिसहरूलाई आशा दिन्छ,’ शुस्टरले थपिन्।
अध्ययनले सन् २०२० लाई आधार वर्ष मानेको छ, तर विगत शताब्दीको तापमान वृद्धिले हिमनदीहरूले ठूलो बरफ गुमाइसकेका छन्। ऐतिहासिक तथ्याङ्कको अभावले क्षतिको परिमाण निर्धारण गर्न कठिन छ। डा. जेकोलारीका अनुसार सन् १८५० मा हिमनदीहरू अहिलेभन्दा ठूला थिए।
‘साइन्स’ जर्नलमा प्रकाशित यो अध्ययनले आठ हिमनदी मोडेल प्रयोग गरेको छ, जसलाई वास्तविक अवलोकनका आधारमा क्यालिब्रेट गरिएको छ। यी मोडेलले विश्वका २ लाख हिमनदी (ग्रिनल्यान्ड र अन्टार्कटिका बाहेक) मा बरफको क्षति अनुमान गरेका छन्। अनुसन्धानकर्ताले केही अनिश्चितता स्वीकारे पनि ४० प्रतिशत हिमनदी लोप हुने निश्चित छ, र खराब अवस्थामा यो ५५ प्रतिशतसम्म पुग्न सक्छ।
आर्कटिक क्यानडाको दक्षिणमा ८० प्रतिशत र हिन्दुकुश–काराकोरम–हिमालयको पश्चिममा ५ प्रतिशत हिमनदी लोप हुने देखिएको छ। तापमान २.७ डिग्री सेल्सियस पुग्दा १९ प्रमुख हिमनदी क्षेत्रका ८० प्रतिशत हिमनदी गुम्नेछन्, जसमा युरोपदेखि पूर्वी हिमालय, रुसी आर्कटिक, पश्चिमी अमेरिका र आइसल्यान्डका हिमनदी पूर्ण रूपमा हराउनेछन्।
हिमनदीहरूले हाल समुद्री सतह वृद्धिको एक चौथाइ योगदान गर्छन्। लोप हुने निश्चित हिमनदीले ११ सेन्टिमिटर समुद्री सतह बढाउँछ। तापमान २.७ डिग्री सेल्सियस पुग्दा यो २३ सेन्टिमिटर पुग्छ, तर १.५ डिग्रीमा सीमित गरे १४ सेन्टिमिटरमा झर्छ।
‘हिमनदीहरू जलवायु परिवर्तनका प्रतिष्ठित उदाहरण हुन्,’ यूकेको नर्थम्ब्रिया विश्वविद्यालयका प्राध्यापक एन्ड्रु शेफर्ड भन्छन्, ‘यो प्रक्रिया शताब्दीऔँसम्म चल्छ। जीवाश्म इन्धनको प्रयोग जारी राखे पहाडी परिदृश्य चिन्न नसकिने हुनेछ।’
‘हिमनदी टाढा लागे पनि तिनको क्षति सबैका लागि महत्त्वपूर्ण छ। बेलायतमा कार चलाउँदा उत्सर्जन हुने ग्यासले १० हजार किलोमिटर टाढाको हिमनदी पग्लन मद्दत गर्छ,’ डा. जेकोलारीले भने। गार्जियनबाट
प्रकाशित: १६ जेष्ठ २०८२ १४:३९ शुक्रबार