टर्कीले शुक्रबार बिहान ६५ सैनिक र प्रहरीलाई स्वर्गीय प्रचारक फेतुल्लाह गुलेनसँग सम्बन्ध रहेको आरोपमा पक्राउ गरेको छ। गुलेनमाथि २०१६ को असफल कूको योजनाकार भएको आरोप छ।
टर्कीको सरकारी समाचार एजेन्सी एनादोलुले ५६ सक्रिय सैनिक पक्राउ गरिएको र अन्य सात जनाको खोजी जारी रहेको जनाएको छ। हल्क टिभीले नौ प्रहरी पक्राउ गरिएको उल्लेख गर्दै भनेको छ, ‘तीमध्ये अधिकांश इस्तानबुलमा छन्।’
‘इस्तानबुलकेन्द्रित ३६ प्रान्तमा आतङ्कवादी सङ्गठन फेटोविरुद्धको कारबाहीमा हिरासत आदेश जारी गरिएका ६३ सक्रिय सैनिकमध्ये ५६ जनालाई पक्राउ गरियो,’ एनादोलुले भन्यो। फेटो अर्थात् ‘फेथुल्लाह आतङ्क सङ्गठन’–टर्कीले गुलेनको हिज्मत आन्दोलनलाई दिएको नाम हो। गुलेनको एक समय पर्दा पछाडि व्यापक प्रभाव थियो।
दुई जना कटु शत्रु बन्नुअघि अक्टोबरमा मृत्यु भएका गुलेन राष्ट्रपति रेसेप तैयप एर्दोगानका घनिष्ठ सहयोगी थिए। उनले सन् १९९९ मा संयुक्त राज्य अमेरिका गए र फर्किएनन्। उनको मृत्युपछि पनि टर्कीले विश्वभर उनका अनुयायीलाई खेद्ने वाचा गरेको छ।
अभियोजकको बयान उद्धृत गर्दै हल्कले गिरफ्तारी अपरेसन इस्तानबुलमा स्थानीय समयअनुसार बिहान ६:०० बजे सुरु भएको र यसमा वायु सेना, जेन्डरमेरी, भूमि र नौसेनाका सदस्य संलग्न रहेको जनाएको छ। एएफपी
प्रकाशित: ९ जेष्ठ २०८२ १४:०९ शुक्रबार