अन्तर्राष्ट्रिय

पाकिस्तान : स्कुल बसमा आक्रमण हुँदा पाँच जनाको मृत्यु, दुई दर्जन बढी घाइते

पाकिस्तानको बलुचिस्तान प्रान्तको खुजदारमा बुधबार बिहान स्कुल बसमा भएको आक्रमणमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ। दुई दर्जनभन्दा बढी घाइते भएका छन्।

खुजदारका उपायुक्त यासिर इकबाल दस्तीले बीबीसीलाई भने, ‘बिहानै खुजदारको जिरो पोइन्टमा बसले बालबालिकालाई स्कुल लैजाँदै गर्दा विस्फोट भयो।’ घाइतेहरूलाई अस्पताल लगिएको छ। उनले अनुसन्धान जारी रहेको र प्रमाण सङ्कलन भइरहेको बताए।

खुजदार प्रहरी चौकीका एसएचओले भने, ‘निशाना बनाइएको बस खुजदार क्यान्टको स्कुलका बालबालिका बोकेर गइरहेको थियो।’ विस्फोटले बस पूर्णरूपमा ध्वस्त भएको छ भने नजिकैको सानो कारमा पनि क्षति पुगेको थियो।

उनले थपे, ‘अनुसन्धान जारी छ, तर विस्फोटक पदार्थ सानो गाडीमा राखिएको देखिन्छ।’ विस्फोट रिमोट कन्ट्रोल वा आत्मघाती आक्रमणकारीबाट भएको हो भन्ने यकिन भइसकेको छैन। प्रहरीका अनुसार बसमा करिब ४० बालबालिका थिए।

आक्रमणको जिम्मेवारी कसैले लिएको छैन। तर यसलाई बलुच अतिवादीसँग जोडिएको छ। केन्द्र सरकारमा गृहमन्त्री मोहसिन नकवीले आक्रमणको निन्दा गर्दै बालबालिकाको मृत्युप्रति समवेदना व्यक्त गरेका छन्। उनले भने, ‘यस घटनाका जिम्मेवारहरू कुनै उदारताका योग्य छैनन्। अतिवादीहरूले निर्दोष बालबालिकालाई निशाना बनाएर बर्बरता गरेका छन्।’

प्रकाशित: ७ जेष्ठ २०८२ १४:०१ बुधबार

#Pakistan #NagarikNews