अन्तर्राष्ट्रिय

मलेसियामा रोजगारदाता परिवर्तनको अनुमतिले नेपाली श्रमिकलाई फाइदा

मलेसिया सरकारले आप्रवासी श्रमिकहरूलाई विभिन्न क्षेत्रमा रोजगारदाता परिवर्तन गर्न अनुमति दिने नयाँ निर्णय गरेको छ। मलेसिया लाखौं नेपालीहरूको रोजगार गन्तव्य हो। यस निर्णयबाट नेपाली श्रमिकहरूले पनि उल्लेख्य लाभ लिन सक्ने अपेक्षा गरिएको छ।

मलेसियाका गृहमन्त्री दातुक सेरी सैफुद्दिन नासुतियन इस्माइलले आप्रवासी श्रमिकको व्यवस्थापनसम्बन्धी १३औँ संयुक्त समिति बैठकमा यो निर्णय गरेको जानकारी दिए। यो निर्णयले उत्पादन, निर्माण, कृषि, बगानजस्ता औपचारिक क्षेत्रहरूमा कार्यरत कमदारलाई लाभ पुग्नेछ। त्यस्तै, सेवा क्षेत्रहरूमा होटेल, पर्यटनलगायतमा कार्यरत आप्रवासी श्रमिकहरूलाई रोजगारदाता परिवर्तन गर्न अनुमति प्रदान गरेको छ।

यसअघि मलेसिया सरकारले आप्रवासी श्रमिकहरूलाई एकै प्रकृतिको कार्यक्षेत्रमा मात्र रोजगारदाता परिवर्तन गर्न अनुमति दिएको थियो। यो सुविधा कम्पनी पुनर्संरचना, बन्द, विस्तार वा श्रम विभागको निगरानीमा रहेको समितिको अनुमोदनजस्ता सर्तहरूमा आधारित थियो। तर नयाँ नीतिले श्रमिकहरूलाई थप लचकता प्रदान गर्दै विभिन्न क्षेत्रमा रोजगारदाता परिवर्तन गर्न सक्ने बनाएको छ।

यो निर्णय मलेसियामा कार्यरत नेपाली श्रमिकहरूका लागि राम्रो अवसर हो। यो नीति अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को सिफारिसहरूसँग पनि मेल खाने बताइएको छ। यसले श्रमिकहरूको अधिकार संरक्षण र उनीहरूको कार्यस्थलमा स्वतन्त्रता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। एजेन्सी

प्रकाशित: ७ जेष्ठ २०८२ १०:१७ बुधबार

#Malaysia #worker #NagarikNews