भारत र पाकिस्तानबिच युद्ध विराम भएपछि जम्मु–कश्मीरको जनजीवन सामान्य हुन थालेको छ। मंगलबार श्रीनगर र नियन्त्रण रेखा(एलओसी) आसपासका सबै जिल्लाका विद्यालय, क्याम्पस र विश्वविद्यालयका कक्षा सुचारु भएका छन्।
श्रीनगर र जम्मु विमानस्थलबाट पनि नियमित उडान सुरु भएको अधिकारीहरूले बताएका छन्। यस्तै मे ४ मा यात्रा भर्नुपर्ने हज यात्रीले बुधवार बिहानबाट यात्रा सुरु गर्ने समाचार आएका छन्। हज यात्रीलाई अतिरिक्त उडानको पनि व्यवस्था गरिएको छ।
यस्तै सरकारले एलओसी आसपासका गाउँबाट विस्थापित बासिन्दालाई फर्काउन सुरु गरेको छ। अस्थायी शिविरबाट गाउँ फर्कने मानिसका लागि विशेष बसको व्यवस्था गरिएको बताइएको छ।
चार दिनसम्म चलेको सैन्य तनावका कारण उरी, तंगधार, करनाह, माझिल, चौकी बल समेत कैयौँ सीमावर्ती गाउँमा बमगोला खसेका थिए। त्यहाँ नपड्किएका गोला बारुद निष्क्रिय पार्न सैनिक सक्रिय छ।
बारामुलाका एसएसपी गुरिन्दर पाल सिंह र कुपवाडाका एसएसपी गुलमा जिलानीका अनुसार पुलिस, सेना र अर्धसैनिक एजेन्सी बम निष्क्रिय दस्तासहित दुवै जिल्लाका दर्जनौँ बस्तीमा पुगेर काम गरिरहेका छन्। प्रहरीका अनुसार उरीमा मात्रै २० गोला भेटिएका छन्।
जम्मुको पुछ, राजौरी र आरएसका पूरा क्षेत्रमा पनि बारुदी सुरुङ हटाउन र विस्थापित मानिसलाई फिर्ता पठाउने काम चलिरहेको छ।
यसैबिच जम्मु–कश्मीरका उपराज्यपाल मनोज सिन्हा र मुख्यमन्त्री उमर अब्दुल्लाले क्षतिको आकलन गर्न र प्रभावित परिवारसँग भेट्न सोमबार रजौरीका यात्रा गरेका थिए।
२२ अप्रिलमा जम्मुको पर्यटकीय क्षेत्र पहलगाममा आतंकवादी हमलामा परी २६ जनाको मृत्यु भएको थियो। जसमा एक नेपाली पनि सामेल छन्।
त्यसपछि सिर्जना भएको भारत–पाकिस्तान तनाव मे ६ को रातिसम्म पुगेर सीमा पार आक्रमणमा परिणत भएको थियो।
शनिवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश बिचको विवादलाई युद्ध विराम गराएका थिए।
बिबिसी हिन्दीको सहयोगमा
प्रकाशित: ३० वैशाख २०८२ १८:४० मंगलबार