अन्तर्राष्ट्रिय

इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

इन्डोनेसियाको पश्चिम जाभा प्रान्त, गरुत जिल्लाको सगारा गाउँमा सोमबार बिहान म्याद सकिएको गोलीगठ्ठा नष्ट गर्ने क्रममा भएको विस्फोटमा १३ जनाको ज्यान गएको छ। मृतकमा चार सैनिक र नौ स्थानीय बासिन्दा छन्।

इन्डोनेसियाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल वाह्यु युधायानाले पत्रकार सम्मेलनमा भने, ‘दुई खाल्डामा विस्फोट सफल भएको थियो, तर तेस्रो खाल्डामा विस्फोटक तयार गर्ने बेला अचानक विस्फोट भयो, जसले यो दुखद घटना निम्त्यायो।’ 

उनका अनुसार विस्फोट अघि सबै उपकरणको सुरक्षा जाँच गरिएको थियो। यो स्थल लामो समयदेखि विस्फोटक पदार्थ नष्ट गर्न प्रयोग हुँदै आएको छ। सैन्य प्रवक्ता क्रिस्टोमेई सियान्तुरीका अनुसार, नजिकैका बासिन्दा विस्फोटपछि धातुका टुक्रा, तामा वा फलामका स्क्र्याप संकलन गर्न पुगेका थिए, जसले दोस्रो विस्फोटको जोखिम बढाएको थियो।

दुर्घटनामा परेका सबैलाई पामेउङपेउक जनरल अस्पताल लगिएको छ। मृतक स्थानीय बासिन्दाहरूमा अगुस बिन कास्मिन, पियान बिन ओबुर, इयुस इबिङ बिन इनोन, अनवर बिन इनोन, इयुस रिजाल बिन साएपुलोह, टोटो, ददाङ, रुस्तियावान र एन्डाङ छन्।

घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु भएको छ। सेनाले दोस्रो विस्फोटको जोखिम कम गर्न क्षेत्र खाली गरेको छ। यो इन्डोनेसियामा एक वर्षभित्र म्याद सकिएको सैन्य गोलीगठ्ठासँग सम्बन्धित दोस्रो घटना हो। गत वर्ष मार्चमा सैन्य डिपोमा आगलागी हुँदा ठूलो विस्फोट भएको थियो। सिन्ह्वा

प्रकाशित: ३० वैशाख २०८२ १०:०२ मंगलबार