भारत र पाकिस्तानबिच तनाव बढ्दै जाँदा दुवै देशले एकअर्कामाथि ड्रोन आक्रमण गरेको देखिएको छ। दुवै देश दक्षिण एसियाली आणविक शक्ति सम्पन्न राष्ट्र हुन्।
भारतीय सेनाले शुक्रबार विज्ञप्तिमा जनाएअनुसार पाकिस्तानले आठ र नौ मेको राति भारतका विभिन्न ठाउँमा ड्रोन आक्रमण गरेको थियो। सेनाका प्रवक्ता कर्नेल सोफिया कुरेशीले भनिन्, ‘पाकिस्तानले करिब तीन समयदेखि चार सय ड्रोन प्रहार गरेको छ।’
पाकिस्तानले पनि यस्तै दाबी गरेको छ। उसले एक सय आसपास भारतीय ड्रोन खसालेको जनाएको छ। तर भारतले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। रक्षा विज्ञ शारदेन्डुले ड्रोनको प्रयोगबारे भन्छन्, ‘यो नयाँ टेक्नोलोजी हो, जुन मानवरहित छ। यसले लडाकु विमानको प्रयोग गर्दैन। आक्रमणकारीको ज्यान जोखिममा पर्दैन, पाइलट पठाउनु पर्दैन।’
ड्रोनको भूमिका महत्त्वपूर्ण
२२ अप्रिलमा पहलगाममा पर्यटकमाथि भएको आक्रमणपछि भारत-पाकिस्तान तनाव चरममा पुगेको छ। उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको थियो। जवाफमा भारतले मे छ र सातको राति पाकिस्तानका नौ ठाउँमा आक्रमण गरेको थियो।
यो संघर्षमा ड्रोनको प्रयोग बढेको छ। ड्रोनलाई मानवरहित हवाई सवारी साधन भनिन्छ। यो सफ्टवेयरद्वारा नियन्त्रित उड्ने रोबोट हो। उडान योजना र मार्ग सफ्टवेयरमा प्रोग्राम सेट गरी टाढाबाट नियन्त्रण गर्न सकिन्छ।
ड्रोन स्वायत्त रूपमा उड्छन्, सेन्सर तथा जीपीएससँग मिलेर काम गर्छन्। इम्पेरियल वार म्युजियमका अनुसार, पहिलो विश्वयुद्धमा अमेरिका र बेलायतले रिमोटली पाइलटेड भेहिकल (आरपीभी) बनाएका थिए, जुन सन् १९१७-१९१८ मा रेडियोद्वारा नियन्त्रित थिए।
शारदेन्डुले भने, ‘आधुनिक ड्रोन निकै उन्नत छन्। टाढाबाट लक्ष्य पत्ता लगाएर निशाना बनाउन सकिन्छ। दुर्घटना भए पनि लडाकु विमानको तुलनामा कम आर्थिक क्षति हुन्छ।’
९/११ पछि अमेरिकाले अफगानिस्तानमा ड्रोनको व्यापक प्रयोग गरेको थियो। हाल रूस-युक्रेन युद्धमा पनि प्रयोग भइरहेको छ। रोयटर्सको नौ मे को रिपोर्टअनुसार, रूसले गेरन-२ आत्मघाती ड्रोन प्रयोग गरी युक्रेनको ऊर्जा पूर्वाधार नष्ट गर्यो। रूसले मस्कोको रेड स्क्वायरमा चिनियाँ राष्ट्रपति सी जिनपिङसहित विदेशी नेताहरूको अगाडि ड्रोन प्रदर्शन गरेको थियो।
भारत-पाकिस्तान तनावमा ड्रोनको भूमिका महत्त्वपूर्ण बन्दै गएको छ। पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बिहीबार भनेका थिए, ‘हाम्रो देश ड्रोन आक्रमणको निशानामा छ। कराँची र लाहोर जस्ता ठूला शहरहरूलाई ड्रोनले लक्षित गरिरहेका छन्।’
भारतले पहिलो दिन सैन्य स्थललाई निशाना नबनाएको बताएको थियो। तर, कर्नेल सोफिया कुरेशीले बिहीबार भनिन्, ‘भारतले लाहोरको वायु रक्षा प्रणाली सफलतापूर्वक ध्वस्त गरेको छ।’ उनले ड्रोन वा मिसाइल के प्रयोग भएको स्पष्ट पारिनन्।
भारतका ड्रोन
भारतसँग विभिन्न प्रकारका ड्रोन छन्। बालाकोट सर्जिकल स्ट्राइकपछि इजरायलसँग धेरै ड्रोन सम्झौता भएको थियो। शारदेन्डु भन्छन्, ‘पाकिस्तानको तुलनामा भारतसँग तीनवटा ड्रोन छन्, जसले भारतलाई बढी मारक क्षमता दिन्छ।’ यी ड्रोनमा हारोप, हेरोन मार्क-२ र स्काई-स्ट्राइकर छन्।
स्काई-स्ट्राइकर भारत र इजरायलको संयुक्त प्रयासमा बेंगलुरुमा बनाइएको हो। नयाँ दिल्लीस्थित सेन्टर फर एयर पावर स्टडीजका वरिष्ठ फेलो दिनेश कुमार पाण्डेले भने, ‘परिस्थितिको संवेदनशीलताअनुसार सेनाले ड्रोन छनोट गर्छ।’
भारतले सन् २०२१ मा करिब एक सय स्काई-स्ट्राइकर ड्रोन प्राप्त गरेको थियो, जसको दायरा एक सय किलोमिटर छ। त्यसले १० किलोग्राम हतियार बोक्न सक्छ। यी कम आवाजमा कम उचाइमा प्रभावकारी हुन्छन्। निर्माता कम्पनीका अनुसार, ‘यी शान्त, अदृश्य र अचानक आक्रमण गर्छन्।’
हारोप ड्रोनको दायरा एक हजार किलोमिटर छ र नाै घण्टासम्म उड्न सक्छ। यो रडार-विरोधी टेक्नोलोजीले सुसज्जित छ, जसले ठूला सैन्य मेसिन पहिचान गरी सटीक आक्रमण गर्छ। यसले २३ किलोग्रामसम्मको बम बोक्न सक्छ र समुद्रमा युद्धपोतबाट पनि प्रयोग गर्न सकिन्छ।
भारतसँग तीन हजार किलोमिटर दायराको हेरोन मार्क-२ पनि छ, जुन सन् २०२३ मा खरिद गरिएको थियो। यो २४ घण्टासम्म हावामा रहन सक्छ। यसमा रडार, आईआर क्यामेरा र लेजर मार्किङ प्रणाली छ, जसलाई डेटा लिङ्कमार्फत नियन्त्रण गर्न सकिन्छ।
पाण्डे भन्छन्, ‘ड्रोनको पेलोड क्षमता इन्जिनमा निर्भर हुन्छ। पेलोड बढाउँदा लामो दूरी उडान क्षमता घट्छ।’
पाकिस्तानका ड्रोन
भारतीय सेनाले शुक्रबार जनाएअनुसार पाकिस्तानले बिहीबार राति जम्मू, पठानकोट र उधमपुरका सैन्य अड्डामा आक्रमण गरेको थियो, जसलाई निष्क्रिय पारियो। पाकिस्तानले भने उक्त आक्रमणको खण्डन गरेको थियो। भारतमाथि औपचारिक रूपमा शनिबारदेखि मात्रै आक्रमण थालेको इस्लामावादको भनाइ रहेको छ।
भारतले पाकिस्तानले टर्कीमा निर्मित ड्रोन प्रयोग गरेको बताएको छ। पाण्डेका अनुसार, पाकिस्तानसँग ड्रोनको झुण्ड छ। ‘यी समूहमा उड्छन्, मार्न गाह्रो हुन्छ र धेरैजसो बच्छन्,’ उनले भने। ‘सानो समूहमा छोडिए पनि हावामा एकसाथ भेला हुन्छन् र लक्ष्यलाई आक्रमण वा रक्षा गर्छन्।’
पाकिस्तानसँग शाहपर-२ ड्रोन छ, जसले २३ हजार फिट उचाइमा उड्न सक्छ। अरब न्यूजका अनुसार, नोभेम्बर सन् २०२४ मा शाहपर-३ को परीक्षण गरिएको थियो, जुन ३५ हजार फिट उचाइमा पुग्छ र पाँच सय किलोग्राम पेलोड बोक्न सक्छ।
पाण्डे भन्छन्, ‘पाकिस्तानसँग आफ्नै बुर्राक ड्रोन छ, बाँकी विदेशबाट खरिद गरिएका छन्।’ पाकिस्तानसँग टर्कीको अकिन्सी ड्रोन पनि छ, जुन हावाबाट हावा र जमिनमा आक्रमण गर्न सक्छ। ‘यो उन्नत छ, तर यसको संख्या थोरै छ,’ पाण्डेले भने।
दुवै देशका ड्रोनको शक्ति
टेक्नी डटकमका अनुसार भारतसँग दुई सय मध्यम उचाइ र नाै सय ८० मिनी मानवरहित हवाई सवारी साधन छन्। पाकिस्तानसँग ६० मध्यम उचाइ, ६० नौसेना, ७० वायुसेना र एक सय सेनाको मिनी मानवरहित हवाई सवारी साधन छन्, तर यसको आधिकारिक पुष्टि भएको छैन।
भारतसँग हार्पी, हारोप, एमक्यू ९ रिपर र रुस्तम-२ छन्। हार्पीले पाँच सय किलोमिटर दायरामा ३२ किलोग्राम पेलोड बोक्न सक्छ। हारोपको दायरा एक हजार किलोमिटर छ, २३ किलोग्राम पेलोड बोक्छ। एमक्यू ९ रिपर एक हजार आठ सय ५० किलोमिटर दायरामा १७ सय किलोग्राम पेलोड बोक्न सक्छ। रुस्तम-२ को दायरा दुई सय किलोमिटर छ र तीन सय ५० किलोग्राम पेलोड बोक्छ।
पाकिस्तानसँग टर्कीको बाय रक्तार अकिन्सी छ, जसले १५ सय किलोग्राम पेलोड बोक्न सक्छ। बाय रक्तार टीबी-२ ले एक सय ५० किलोग्राम पेलोड बोक्छ। चीनको सीएच-४ को दायरा तीनदेखि पाँच हजार किलोमिटर छ र तीन सय ४५ किलोग्राम पेलोड बोक्न सक्छ। बीबीसी
प्रकाशित: २७ वैशाख २०८२ १४:१२ शनिबार