अन्तर्राष्ट्रिय

भारत-पाकिस्तान तनावका बीचमा मलालाले दुवै देशलाई गरिन् यस्तो अपील

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले भारत र पाकिस्तानका नेताहरूलाई तनाव कम गर्न, नागरिकहरू, विशेष गरी बालबालिकाहरूको सुरक्षा सुनिश्चित गर्न र विभाजनकारी शक्तिहरू विरुद्ध एकताबद्ध हुन कदम चाल्न आह्वान गरेकी छिन्।

'घृणा र हिंसा हाम्रा साझा शत्रु हुन्, एकअर्काको होइन,' मलालाले एकसमा लेखेकी छिन्, 'म दुवै देशका सबै निर्दोष पीडितहरूका प्रियजनहरूप्रति मेरो समवेदना व्यक्त गर्दछु।'

मलालाले थप लेख्छिन्, 'म यस खतरनाक समयमा पाकिस्तानमा रहेका मेरा सबै साथीहरू र परिवारका सदस्यहरूका साथै हामीले काम गर्ने शिक्षक, अधिवक्ता र किशोरीहरूको बारेमा सोचिरहेकी छु। अन्तर्राष्ट्रिय समुदायले संवाद र कूटनीतिलाई बढावा दिन अब कदम चाल्नुपर्छ।'

उनले दुवै देशकव सामूहिक सुरक्षा र समृद्धिको लागि शान्ति एक मात्र बाटो भएको पनि बताइन्।

२०१२ मा महिला शिक्षाको प्रवर्द्धन गरिरहेकी मलालालाई तालिबान अतिवादीहरूले निशाना बनाएका थिए। मलालाले अब एक मुखर मानव अधिकार कार्यकर्ताको रूपमा आफ्नो बलियो पहिचान स्थापित गरेकी छिन्। २०१४ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। एजेन्सी

प्रकाशित: २५ वैशाख २०८२ ०७:२४ बिहीबार

#Indo-Pak Tension #Internationalaffairs