अन्तर्राष्ट्रिय

भारत–पाकिस्तान सीमावर्ती बस्तीमा त्रास, गाउँ छाड्दै स्थानीय

भारत र पाकिस्तानबीचको चुलिँदो तनावका कारण भारतको पंजाब राज्यका केही सीमावर्ती गाउँका बासिन्दाहरूले आफ्नो घर छाड्न थालेका छन्।

पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रमा भएको आक्रमणपछि भारत–पाक सीमा नजिकका गाउँमा त्रासको माहोल बनेको छ।

स्थानीयहरू ट्र्याक्टर–ट्रलीमा आवश्यक सामान हालेर आफन्तकोमा वा सीमा क्षेत्रभन्दा टाढा रहेका सुरक्षित स्थानतर्फ गइरहेका छन्।

बीबीसीसँग कुराकानी गरेका केही परिवारहरूले आफ्नो जीवन र सुरक्षाका लागि यस्तो निर्णय लिनुपरेको बताएका छन्।

उनीहरूका अनुसार प्रत्येक परिवारबाट एक–दुई सदस्य जमिन र सम्पत्तिको हेरचाहका लागि गाउँमै रहने छन्। बाँकी सबै सुरक्षित स्थान तर्फ प्रस्थान गर्नेछन्।

फिरोजपुर जिल्लास्थित हुसैनीवाला सीमावर्ती क्षेत्रमा १२ देखि १४ वटा गाउँहरू भारत–पाकिस्तानको सीमासँग सिधै जोडिएका छन्।

झूगे हजारा सिंह गाउँका जीत सिंहले स्थानीयमा त्रास फैलिएको उल्लेख गर्दै भने, ‘यहाँ डरको वातावरण छ। धेरैजसो मानिस आफन्तकहाँ शरण लिन गइरहेका छन्।’

त्यस्तै, एक वृद्धा पञ्जो बाईले मोगा जिल्लातर्फ खानेकुरा बोकेर सुरक्षित स्थानतर्फ हिँडेको सुनाइन्।

उनले भनिन्, ‘हामी अन्न लिएर मोगा गइरहेका छौं। यहाँ युद्धको सम्भावना छ, पाकिस्तानले राति आक्रमण गर्न सक्छ।’

प्रकाशित: २४ वैशाख २०८२ १७:४३ बुधबार