अन्तर्राष्ट्रिय

भारतीय हमलाको डरबिच विश्वसँग पाकिस्तान : घटनामा हाम्रो हात छैन, निष्पक्ष छानबिन होस्

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतंककारी हमलाको निष्पक्ष, पारदर्शी र विश्वसनीय अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान गरेका छन्। 

यूएईका राजदूत हमाद ओबैद इब्राहिम सलेम अल–जाबीसँगको भेटमा उनले भारतले बिना प्रमाण पाकिस्तानलाई घटनासँग जोड्ने प्रयास गरेको भन्दै यस्तो बताएका हुन्।

यो हमलामा पाकिस्तानको कुनै भूमिका नभएको दाबी उनको छ। गत २२ अप्रिलमा भएको आतंकवादी हमलामा एक नेपालीसहित २८ पर्यटक मारिएका थिए। भारतले यस घटनामा पाकिस्तानसँग जोडिएको समूहको संलग्नता रहेको दाबी गरेको छ। 

तर पाकिस्तानले यसलाई खारिज गर्दै क्षेत्रीय शान्तिका लागि मध्यस्थता गर्न साउदी अरेबिया, यूएई र कुवेतसँग आग्रह गरेको छ। शरीफले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग पनि निष्पक्ष अनुसन्धानको माग राखेका छन्।

हमलापछि दुवै देशले कूटनीतिज्ञ निष्कासन, भिसा रद्द र सिन्धु जल सम्झौता निलम्बन गरेका छन्। नियन्त्रण रेखा (एलओसी) मा गोली हानाहान जारी छ। अमेरिका, संयुक्त राष्ट्र सङ्घ र चीनले संयमता अपनाउन आग्रह गरेका छन्। भारतले कुनै पनि बेला जवाफ दिन सक्ने बयान पाकिस्तानका मन्त्रीहरू नै दिँदै हिँडेका छन्। 

भारतीय प्रहरीले हमलामा संलग्न तीन आतंककारीको पहिचान गरेको भनेकाे छ। दुई पाकिस्तानी र एक स्थानीय भएको आरोप लगाइएको छ। पाकिस्तान प्रशासित कश्मीरमा भारतबाट हुने सैन्य कारबाहीको डरले एक हजार भन्दा बढी धार्मिक स्कुल बन्द गरिएको छ। साथै, सो क्षेत्रमा बासिन्दालाई अनाज भण्डार गर्न भनिएको छ। 

प्रकाशित: २० वैशाख २०८२ ११:५० शनिबार