पाकिस्तान प्रशासित कश्मीर (पीओके) मा शनिबार झेलम नदीको जलस्तर अचानक बढ्दा सो क्षेत्रमा अचानक त्रास फैलिएको थियो। बाढीको जोखिम बढेपछि प्रशासनले आपतकाल घोषणा गर्नुपर्यो। स्थानीय बासिन्दाहरूलाई नदी तटबाट टाढा रहन र सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ। मस्जिदहरूबाट चेतावनी सन्देश प्रसारण भएका थिए।
पाकिस्तानी अधिकारीले भारतले जानाजानी धेरै पानी छोडेको आरोप लगाएका छन्। नदी नजिक नजान र जनावरहरूलाई टाढा राख्न अनुरोध गरिएको छ। विपद् व्यवस्थापन प्राधिकरणले भारतबाट पूर्व सूचना नआएको भनेको छ।
सन् १९६० को सिन्धु जल सन्धिअनुसार भारतले झेलममा पानी छोड्ने जानकारी पाकिस्तानलाई दिनुपर्छ। तर, अप्रिल २४, २०२५ मा भारतले पहलगाम हमलाको आरोप लगाउँदै सन्धि निलम्बन गर्यो। भारतले आतंकवाद र जनसंख्या वृद्धिका कारण सन्धि पुनर्विचार गर्नुपरेको तर्क गरेको छ।
पाकिस्तानले यो कदम गैरकानूनी भन्दै विरोध गरेको छ। पाकिस्तानका ऊर्जा मन्त्री सरदार अवैस लेघारीले भारतको कदमलाई ‘मूर्खतापूर्ण‘ भन्दै पानीको अधिकार रक्षा गर्ने बताए। ‘हाम्रो पानीको एक थोपा पनि चोर्न दिइँदैन,’ उनले भनेका छन्।
अहिलेसम्म क्षतिको खबर छैन। भारतले पानी छोडेको आरोपमा पनि केही बोलेको छैन।
प्रकाशित: १४ वैशाख २०८२ १०:२४ आइतबार