अन्तर्राष्ट्रिय

क्रूर आक्रमणका दोषीहरूलाई उन्मुक्ति दिइने छैन : भारतीय गृहमन्त्री शाह

भारतका गृहमन्त्री अमित शाहले बुधबार अनन्तनागस्थित सरकारी मेडिकल कलेज (जीएमसी) अस्पताल पुगेर पहलगाम आतङ्कवादी आक्रमणमा घाइते भएका व्यक्तिहरूको अवस्था बुझेका छन्।

मङ्गलबार पहलगामको बाइसारन घाँसे मैदानमा भएको आतङ्कवादी आक्रमणमा २८ जनाको ज्यान गएको थियो भने धेरै घाइते भएका थिए। सन् २०१९ को पुलवामा हमलापछि यो कश्मीर उपत्यकामा भएको सबैभन्दा ठूलो आक्रमण मानिएको छ।

बुधबार बिहान गृहमन्त्री शाह घटनास्थल बाइसारन मैदान पुगेका थिए। उनी हेलिकप्टरमार्फत हवाई निरीक्षण गर्दै प्रत्यक्ष रूपमा मैदानको अवस्थाबारे जानकारी लिए।

त्यसअघि, श्रीनगरको प्रहरी नियन्त्रण कक्षबाहिर आयोजित श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री शाहले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे र पीडित परिवारजनहरूसँग भेट गरे।

उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत शोक व्यक्त गर्दै भारत आतङ्कवादका अगाडि झुक्ने छैन भन्ने दृढ प्रतिबद्धता व्यक्त गरे। 'पहलगामको आतङ्कवादी आक्रमणमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। भारत आतङ्कवादका अगाडि झुक्ने छैन। यस क्रूर आक्रमणका दोषीहरूलाई उन्मुक्ति दिइने छैन,' गृहमन्त्री शाहले भने।

यता, रक्षामन्त्री राजनाथ सिंहले राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, वायु सेनाका प्रमुख एपी सिंह लगायत उच्च अधिकारीहरूसँग बैठक गरी क्षेत्रको सुरक्षा स्थितिको समीक्षा गरेका छन्।

यसैबीच, राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को टोली पनि घटनास्थल पुगेको छ। डिपुटी इन्स्पेक्टर जनरल (डिआइजी) स्तरका अधिकारीको नेतृत्वमा गएको टोलीले जम्मु–कश्मीर प्रहरीले गरिरहेको अनुसन्धानमा सहयोग पुर्याउनेछ। यो हमला पछिल्ला लगभग २० वर्षको अवधिमा नागरिकहरूलाई लक्षित गरी गरिएको सबैभन्दा घातक मानिएको छ। एजेन्सी

प्रकाशित: ११ वैशाख २०८२ ०९:४३ बिहीबार