अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत किथ केलगले रुस–युक्रेन युद्ध समाधानका लागि युक्रेनलाई दोस्रो विश्वयुद्धपछिको बर्लिनजस्तै विभाजन गर्ने सम्भावित प्रस्तावबारे चर्चा गरेका छन्।
द टाइम्सलाई दिएको अन्तर्वार्तामा केलगले युक्रेनको पश्चिमी क्षेत्रमा पश्चिमी मुलुकहरूको प्रभाव र पूर्वी क्षेत्रमा रुसी सेनाको उपस्थिति रहने शान्ति सम्झौताको परिदृश्य उल्लेख गरेका हुन्।
‘हामीले बर्लिनमा जस्तै क्षेत्रीय प्रभावको अवधारणा अपनाउन सक्छौं,’ केलगले भने। उनले अमेरिकाले युक्रेनमा कुनै स्थल सेना नपठाउने र सैन्य हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन्। यो प्रस्तावले युक्रेनले हाल रुसको नियन्त्रणमा रहेका पूर्वी क्षेत्रहरू स्थायी रूपमा गुमाउनुपर्ने हुन सक्ने संकेत गर्छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई कुनै पनि क्षेत्र सुम्पने वा नेटोको सुरक्षा ग्यारेन्टीबिना सम्झौता गर्ने कुराको विरोध गर्दै आएका छन्। ‘हामीले हाम्रा क्षेत्रहरू रुसी कब्जामा छन् भन्ने कहिल्यै स्वीकार गर्दैनौं। ती हाम्रा लागि अस्थायी कब्जा हुन्,’ जेलेन्स्कीले मार्च २०२५ मा जर्मन मिडियासँग भनेका थिए।
केलगले युद्धग्रस्त क्षेत्रमा १८ माइल चौडाइको असैनिकीकृत क्षेत्र (डीएमजेड) स्थापना गर्न सकिने सुझाव पनि दिएका छन्। ‘दुबै पक्षलाई १५–१५ किलोमिटर पछाडि हटाएर डीएमजेड बनाउन सकिन्छ, जसको अनुगमन सम्भव हुन्छ,’ उनले थपे। उनले युक्रेनको राजधानी कीभ हुँदै बग्ने डिनिप्रो नदीलाई पश्चिम र पूर्वी क्षेत्रको सम्भावित सीमांकन रेखाको रूपमा प्रयोग गर्न सकिने तर्क प्रस्तुत गरेका छन्।
यसैबीच ट्रम्पका अर्का दूत स्टिभ विटकफले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सेन्ट पिटर्सबर्गमा भेट गरेका छन्। क्रेमलिनका अनुसार चार घण्टाभन्दा लामो यो बैठकमा युक्रेन युद्ध र सम्भावित शान्ति सम्झौताका विभिन्न पक्षमा छलफल भएको थियो। रुसी दूत किरिल दिमित्रीभले वार्तालाई ‘उत्पादक’ भनेका छन्। तर ठोस सहमति भएको विवरण सार्वजनिक भएको छैन।
ट्रम्पले हालै आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा रुस–युक्रेन युद्धलाई ‘अर्थहीन र भयानक’ भन्दै तत्काल रोक्नुपर्नेमा जोड दिएका छन्। ‘यो युद्धले हरेक हप्ता हजारौंको ज्यान लिइरहेको छ। यो कहिल्यै सुरु हुनुहुँदैनथ्यो,’ उनले लेखेका छन्।
बेलायती प्रधानमन्त्री केयर स्टारमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको स्वतन्त्रता जोगाउन शान्ति सेना पठाउन सकिने संकेत गरेका छन्। यद्यपि, युरोपेली नेताहरूले युक्रेनबिना कुनै सम्झौता स्वीकार नगर्ने र युक्रेनको सहभागिता अनिवार्य हुने बताएका छन्।
तर, केलगले बेलायत र फ्रान्सलाई ट्रम्पको पूर्ण समर्थनको आशा नगर्न र जटिल परिस्थितिका लागि तयार रहन सुझाएका छन्। रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले नेटो सेनालाई युक्रेनमा प्रवेश गर्न नदिने क्रेमलिनको अडान दोहोर्याए, जसले यस्तो प्रस्ताव कार्यान्वयनमा थप जटिलता ल्याउन सक्छ। एजेन्सी
प्रकाशित: ३० चैत्र २०८१ १४:१८ शनिबार