अन्तर्राष्ट्रिय

ट्रम्पको कर धम्की अगाडि नझुक्ने चीन, दोहोर्‍यायो अन्तिमसम्म लड्ने अडान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाउने धम्की दिएपछि बेइजिङले पनि जवाफ फर्काएको छ। चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको धम्कीलाई ‘अर्को ठूलो गल्ती’ भनेको छ। 

मन्त्रालयले अमेरिकाबाट हुने कुनै पनि धम्कीपूर्ण व्यवहारलाई चीनले कहिल्यै स्वीकार नगर्ने स्पष्ट पार्दै अन्तिमसम्म आफ्नो सम्पूर्ण शक्तिका साथ यसविरुद्ध लड्ने अडान पनि दोहोर्‍याएको छ।

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले पिपल्स डेलीमा यस विषयमा लेख पनि प्रकाशित गरेको छ। उक्त लेखमा चीनको प्रतिक्रियालाई 'उपयुक्त, कानुनी, बलियो र संयमित' भएको जनाइएको छ। लेखको शीर्षक ‘दबाब र धम्कीमार्फत चीनलाई सम्हाल्ने सही तरिका होइन’ भन्ने छ। 

ट्रम्प प्रशासनको आलोचना गर्दै उक्त अमेरिकाले करलाई हतियारको रूपमा प्रयोग गरिरहेको आरोप लगाइएको छ। लेखमा चीन अन्तर्राष्ट्रिय सहयोग र समानताको समर्थक रहेको कुरा पनि उल्लेख गरिएको छ। 

गत बुधबार ट्रम्पले चीनमाथि ३४ प्रतिशत कर लगाउने घोषणा गरेका थिए। त्यसको जवाफमा चीनले पनि अमेरिकामाथि ३४ प्रतिशत नै कर लगाउने घोषणा गर्‍यो। त्यसैको जवाफमा ट्रम्पले सोमबार (हिजो) थप ५० प्रतिशत कर लगाउने धम्की दिएका हुन्। 

प्रकाशित: २६ चैत्र २०८१ ११:५७ मंगलबार

#DonaldTrump #XiJinping