अन्तर्राष्ट्रिय

इरानले भन्यो : अमेरिकासँगको सिधा वार्ता अर्थहीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सिधा वार्ता गर्न चाहेको बताइरहँदा इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार त्यस्तो सम्भावनालाई ठाडै अस्वीकार गरेका छन्। उनले अमेरिकासँगको प्रत्यक्ष वार्तालाई ‘अर्थहीन’ भनेका छन्। 

ट्रम्पले गत महिना तेहरानलाई वासिङ्टनसँग आणविक कार्यक्रमबारे वार्ता गर्न आह्वान गरेका थिए। उनले कूटनीति असफल भए इरानमाथि आक्रमण गर्ने चेतावनी पनि दिएका थिए। बिहीबार ट्रम्पले फेरि भने, ‘मलाई लाग्छ मध्यस्थमार्फत जानुभन्दा सिधा वार्ता छिटो हुन्छ।’

तर, आइतबार अराघचीले भने, ‘संयुक्त राष्ट्रसङ्घको बडापत्र उल्लङ्घन गरेर बल प्रयोगको धम्की दिने र विरोधाभासी कुरा गर्ने पक्षसँग प्रत्यक्ष वार्ता अर्थहीन हुन्छ।’ उनले थपे, ‘हामी कूटनीतिका लागि प्रतिबद्ध छौँ र अप्रत्यक्ष वार्ताको बाटो प्रयोग गर्न तयार छौँ।’ 

परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘इरान सबै सम्भावित गतिविधि वा घटनाका लागि तयार छ। हामी कूटनीति र वार्तामा गम्भीर छौँ, तर राष्ट्रिय हित र सार्वभौमिकताको रक्षामा पनि उत्तिकै गम्भीर र निर्णायक छौँ।’

शनिबार इरानी राष्ट्रपति मसूद पेजेशकियानले अमेरिकासँग समान स्तरमा वार्ता गर्न इच्छुक रहेको बताए। तर, उनले वासिङ्टनको इमान्दारितामाथि प्रश्न उठाउँदै भने, ‘वार्ता चाहन्छौ भने धम्कीको अर्थ के हो?’

परमाणु कार्यक्रमको विवाद
पश्चिमा देशहरूले दशकौँदेखि तेहरानमाथि आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन्। इरानले भने यो आरोप अस्वीकार गर्दै आफ्नो आणविक गतिविधि नागरिक प्रयोजनका लागि मात्र भएको दाबी गर्छ।

इस्लामिक रिभोल्युसनरी गार्ड कोरका प्रमुख हुसेन सलामीले शनिबार देश युद्धका लागि ‘तयार’ रहेको बताए। उनले भने, ‘हामीलाई युद्धको चिन्ता छैन। हामी युद्ध सुरु गर्ने छैनौँ, तर कुनै पनि युद्धका लागि तयार छौँ,’ राज्य सञ्चालित समाचार संस्था इर्नाले उनलाई उद्धृत गरेको छ।

सन् २०१५ मा इरानले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरू (अमेरिका, फ्रान्स, चीन, रुस, बेलायत र जर्मनी) सँग ऐतिहासिक सम्झौता गरेको थियो। यो सम्झौता ‘संयुक्त वृहत् कार्ययोजना (जेसीपीओए)’ नामले चिनिन्छ। यसले इरानको आणविक कार्यक्रममा प्रतिबन्ध लगाएर आणविक हतियार विकास रोक्ने ग्यारेन्टी गरेको थियो भने बदलामा इरानमाथिका आर्थिक प्रतिबन्ध हटाइएको थियो।

तर, सन् २०१८ मा ट्रम्पको पहिलो कार्यकालमा अमेरिका यो सम्झौताबाट बाहिरियो र इरानमाथि कडा प्रतिबन्ध फर्कायो। एक वर्षपछि इरानले पनि सम्झौताका प्रतिबद्धताबाट पछि हट्न थाल्यो र आफ्नो आणविक कार्यक्रम तीव्र बनायो।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सल्लाहकार अली लारिजानीले इरानले आणविक हतियारको खोजी नगरेको तर आक्रमण भए आणविक हतियारको विकल्प नरहने चेतावनी दिएका छन्। एएफपी

प्रकाशित: २४ चैत्र २०८१ १४:२७ आइतबार