अन्तर्राष्ट्रिय

अमेरिकामा चन्दा संकलनबाट सामुदायिक भवन खरिद

अमेरिकाको क्यालिफोर्निया सान फ्रान्सिस्को क्षेत्रमा बसोवास गर्ने नेपालीले चन्दा संकलनबाटै २६ करोड बराबरको सामुदायिक भवन खरिद गरेका छन्। अमेरिकामा बस्ने नेपालीहरूको संस्था नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स), १९९४ को नेतृत्वमा भवन खरिद गरिएको हो।

बे एरियाको रिचमन्ड सिटी ३६९ चेल्सी एभिन्युमा रहेको रिलिजियस प्रपर्टी १८ लाख ६० हजार डलर (२६ करोड ६६ लाख नेपाली रूपैयाँ) मा खरिद गरी शनिबार गृह प्रवेशसमेत गरिएको छ। गृह प्रवेशका क्रममा बौद्ध र हिन्दु धर्मका गुरु एवं पुरोहितले मन्त्रोच्चारण गरेका थिए भने गुरुङ, नेवार र तामाङ समुदायका युवायुवती सांस्कृतिक पोसाक र बाजागाजासहित भवन प्रवेश गरेका थिए।

गत अक्टोबरमा खरिदका लागि न्यान्सको अफर परेपछि नोभेम्बरदेखि घरदैलो, टोलटोलमा भजनलगायतका अभियानमार्फत सहयोग संकलन गरिएको थियो। सुरुमा सामुदायिक केन्द्र बनाउने उद्देश्यले सन् २०१८ अभियान सुरु गरिएको थियो।

करिब १० हजार आठ सय स्क्वायरफिटको भवन संरचना क्षेत्र र ५४ हजार स्क्वायरफिटको पार्किङ क्षेत्र छ। भवनमा पाँच सय २८ सिट क्षमताको सभा कक्ष, दुई सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा, एक सय १० अट्ने गाडी पार्किङ र थुपै शौचालय छन्।

भवनमा नेपाली चाडपर्वका साथै बालबालिकाका लागि भाषा कक्षा र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम गरिने अध्यक्ष प्रितेश कार्कीले बताए। ‘हामीले गर्ने कार्यक्रम र गतिविधिले नेपालीभाषीबिच भावनात्मक एकता प्रगाढ पार्ने हाम्रो विश्वास छ’, कार्कीले भने।

 क्यालिफोर्निया धेरै नेपाली बसोबास गर्ने राज्यमा पर्छ। क्यालिफोर्नियाको नर्दन क्षेत्रमा ७० हजारभन्दा बढी नेपालीको बसोवास रहेको तथ्यांक छ।

प्रकाशित: २६ फाल्गुन २०८१ ०८:४८ सोमबार

# Nagarik # Community building purchase