अन्तर्राष्ट्रिय

युक्रेनबिना साउदीमा अमेरिका-रुसको शान्ति वार्ता, जेलेन्स्की के भन्छन्?

युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा युक्रेनलाई आमन्त्रित गरिएको छैन। यो जानकारी युक्रेनी सरकारका एक वरिष्ठ अधिकारीले बीबीसीलाई दिएका हुन्।

वास्तवमा, युक्रेनका लागि अमेरिकी विशेष राजदूत किथ केलगले सोमबार साउदी अरेबियामा हुने वार्तामा युक्रेनले भाग लिने बताएका थिए। तर, युक्रेनले आफ्नो तर्फबाट कुनै पनि प्रतिनिधिमण्डल उपस्थित नहुने जानकारी दिएको छ।

यसअघि, अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकफले आइतबार साउदी अरेबियाको भ्रमण गर्ने पुष्टि गरेका थिए। उनको भ्रमणको उद्देश्य युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीचको पहिलो वार्ता हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्य गर्ने बारेमा फोनमा कुरा गरेका थिए। त्यसपछि उनले छलफल अगाडि बढाउन दुवै जना चाँडै भेट्ने पनि बताए। अमेरिकामा ट्रम्प सरकारमा आएसँगै युक्रेन युद्धको बारेमा छलफल तीव्र भएको छ।

यद्यपि, ट्रम्प र पुटिन बीचको यो कुराकानीपछि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सम्झौता नगर्ने स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘युक्रेन (हामी) युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौता स्वीकार गर्दैनौँ, जसमा हाम्रो सहभागिता छैन।’ युक्रेनबाट अमेरिकाले समर्थन फिर्ता लगेपछि बेलायतसहित युरोपले रुसविरुद्धको लडाइँमा थप सघाउने अपेक्षा जेलेन्स्कीको छ।

प्रकाशित: ५ फाल्गुन २०८१ १०:३९ सोमबार

#russia #trump #PUtin #Ukraine