दिल्ली विधानसभा चुनाव २०२५ को प्रारम्भिक नतिजा अनुसार भारतीय जनता पार्टी (भाजपा) २७ वर्षपछि सत्तामा फर्किने देखिएको छ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कले भाजपा ४० सिटमा र आम आदमी पार्टी (आप) ३० सिटमा अग्रता लिइरहेका छन्। भारतीय कांग्रेस भने अहिलेसम्म कुनै पनि सिटमा अंग्रता लिएको देखिएको छैन। यसअघि १९९८ मा भाजपाले दिल्लीमा सरकार बनाएको थियो।
भारतीय सञ्चारमाध्यममा भाजपा ४४ सिट र आप २५ सिटमा अगाडि रहेको देखाइएको छ। आपका संयोजक अरविन्द केजरीवाल नयाँ दिल्ली सिटबाट थोरै मतान्तरले अगाडि छन्।
यसैबीच, जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले आपभित्र जारी आन्तरिक लडाइँको लाभ भाजपाले उठाएको भन्दै आलोचना गरेका छन्। बुधबार दिल्लीका ७० सिटका लागि मतदान भएको थियो। दिउँसो १२ बजेसम्म दिल्लीमा कसको सरकार बन्छ भन्ने कुरा स्पष्ट हुनेछ।
प्रकाशित: २६ माघ २०८१ ११:०४ शनिबार