अन्तर्राष्ट्रिय

महाकुम्भमा भागदौड मच्चिँदा २० जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा रहेको प्रयागराजको संगमस्थलमा भागदौड मच्चिँदा २० जनाको मृत्यु भएको छ। अन्य ५० जना बढी घाइते भएका छन् । दुर्घटनाको १० घण्टा हुँदा समेत भारतीय सरकारले भने यसको औपचारिक जानकारी सार्वजनिक गरेको छैन । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् भने मुख्यमन्त्री योगी आदित्यनाथले जनतालाई संयमता अपनाउन अपिल गरेका छन्।

यस्तै, कांग्रेस सांसद राहुल गान्धीले भिआइपी संस्कृति र सरकारी कुप्रबन्धका कारण भागदौड भएको आरोप लगाएका छन्। अमृतस्नानका कारण अधिकांश पोन्टुन पुल बन्द गरिएको थियो, जसले गर्दा संगममा करोडौंको भीड जम्मा भएको थियो। भीडमा केही मानिस ब्यारिकेडमा अड्किएर खसेको देखिएपछि भागदौड मच्चियो। संगम नाकमा छुट्टै प्रवेश र निस्कने बाटो नभएकाले मानिसहरू जहाँबाट आएका थिए, त्यही बाटोबाट फर्किनुपर्ने भएकाले भागदौड हुँदा ठुलो हताहथी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

महाकुम्भ मेला २०२५ को मौनी अमावस्यको दिनमा प्रयागराजमा गंगा, जमुना र सरस्वती नदीको संगमस्थलमा महाकुम्भको शाही स्नान भएको थियो। यो दिनमा चिताएको कुरा पूरा हुने धार्मिक विश्वासका कारण करोडौं मानिस स्नानका लागि आएका थिए।

प्रकाशित: १६ माघ २०८१ १३:३६ बुधबार

#Mahakumba Mela