अन्तर्राष्ट्रिय

इजरायलको दाबी : युद्धविरामको पहिलो चरणमा रिहा हुनुअघि नै ८ बन्धकको मृत्यु

इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले इजरायल र हमासबीचको युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा हुने भनिएका ८ बन्धकको मृत्यु भएको जानकारी दिएका छन्। यद्यपी मृतकहरूको नाम भने सार्वजनिक गरिएको छैन। तर प्रवक्ताले परिवारलाई आफन्तको अवस्थाबारे जानकारी गराइएको पुष्टि गरेका छन्।

यसबाट पहिलो चरणमा रिहा हुने भनिएका २६ बन्धकमध्ये अहिले १८ जना मात्रै जीवित रहेको स्पष्ट हुन्छ। जनवरी १९ मा लागू भएको युद्धविराम सम्झौताले सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणपछि जारी रहेको १५ महिनाको द्वन्द्वलाई खतम गरिदिएको छ।

सम्झौताको पहिलो चरण अन्तर्गत गाजामा बन्धक बनाइएका ३३ इजरायली नागरिकलाई प्यालेस्टाइनीको बदलामा रिहा गरिनुपर्छ। युद्धविराम सम्झौता अन्तर्गत हालसम्म ७ इजरायली महिला र २९० प्यालेस्टाइनी बन्दी रिहा भएका छन्।

२०२३ अक्टोबर ७ मा हमासले दक्षिणी इजरायली सीमामा आक्रमण सुरु गरेको थियो। यस हमलामा करिब १२०० जना व्यक्तिको मृत्यु भएको थियो भने करिब २५० जनालाई बन्धक बनाइएको थियो। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायलले गाजामा जवाफी हमला गरेको थियो। यी आक्रमणमा ४७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका थिए।

तीन चरणको युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा ठूलो मात्रामा मानवीय सहायता र पूर्वाधारको पुनर्निर्माण समावेश छ। यस बाहेक इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदी र हमासको कब्जामा रहेका इजरायली बन्दीहरूको पनि अदला बदली भइरहेको छ। एजेन्सी

प्रकाशित: १५ माघ २०८१ ०७:३९ मंगलबार