अन्तर्राष्ट्रिय

बालिकाको पेटबाट निकालियो एक किलोको कपाल

भारत, बिहारको मुजफ्फरपुरमा, डाक्टरहरूले नौ वर्षीया बालिकाको पेटबाट कपालको ठूलो डल्ला निकालेका छन्। दुई घण्टा लामो शल्यक्रियापछि निकालिएको कपालको डल्लाको तौल एक किलोग्राम थियो।

यो शल्यक्रिया श्रीकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा गरिएको थियो, जसको विस्तृत रिपोर्ट बीबीसी हिन्दीले प्रकाशित गरेको छ। बालिकालाई पेट दुख्ने समस्या भएपछि परीक्षण गर्दा उनको पेटमा कपाल जम्मा भएको पाइएको हो। उनलाई तीन वर्षको उमेरदेखि नै कपाल खाने बानी परेको थियो। यस्तो बानीका कारण उनको हेमोग्लोबिन धेरै कम भएको थियो, जसले गर्दा उनको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको थियो।

बाल रोग विशेषज्ञ डा. आशुतोष कुमारले भने, ‘बालिकालाई ट्राइकोटिलोमेनिया र ट्राइकोबेजोर नामक मानसिक रोग छ, जसले गर्दा कपाल पेटमा जम्मा भएको थियो।’ ट्राइकोटिलोमेनिया एक यस्तो अवस्था हो जहाँ व्यक्तिले आफ्नो कपाल उखेल्छ र खाने गर्छ, जसले गर्दा पेटमा अखाद्य वस्तुहरू जम्मा हुन्छन्। कपाल पचाउन सकिदैँन्।

मनोवैज्ञानिक निधि सिंहका अनुसार, पिका र ट्राइकोटिलोमेनिया दुवै एक प्रकारको मानसिक रोग हुन्। पिका विशेष गरी खाद्य पदार्थ बाहेकका वस्तुहरू खाने समस्या हो भने ट्राइकोटिलोमेनिया कपाल खाने मानसिक समस्या हो। अहिले बालिकाको अवस्था स्थिर छ तर उनको शारीरिक स्वास्थ्यमा सुधार हुन अझै केही समय लाग्नेछ। 

जानकारी अनुसार उनलाई मानसिक रोग विभागमा थेरापीको लागि पठाइनेछ, जहाँ उनलाई व्यवहार परिमार्जन थेरापी दिइनेछ। यसका साथै, उनलाई मनोसामाजिक९पोषण विश्लेषण गर्न आवश्यक छ जसले उनको मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग गर्छ।

प्रकाशित: ११ माघ २०८१ १५:३८ शुक्रबार

#NagarikNews