अन्तर्राष्ट्रिय

गान्धीविरुद्ध एफआईआर दर्ता, भाजपा सांसद भन्छन्: कांग्रेसलाई पनि लाज लाग्नुपर्छ

भारतीय कांग्रेसका नेता राहुल गान्धीमाथि संसद्मा धक्कामुक्की गरेको आरोप लागेको छ। 

बिहीबार, भारतीय जनता पार्टी (भाजपा) का नेताहरूले लोकसभामा विपक्षी नेता समेत रहेका गान्धीले धक्कामुक्की गर्दा आफ्ना केही सांसद गम्भीर घाइते भएको आरोपसहित दिल्ली प्रहरीमा एफआईआर दर्ता गरेका छन्। 

बिहीबार साँझ, भाजपाका अनुराग ठाकुरसहितका नेताहरूले गान्धीविरुद्ध भारतीय न्याय संहिताको विभिन्न धारा अन्तर्गत एफआईआर दर्ता गराएका हुन्।  

एफआईआरपछि अनुराग ठाकुरले भने, ‘हामी पनि विपक्षमा थियौँ। हामीले विरोध पनि गर्यौं तर सभ्य तरिकाले। कांग्रेसले जे गर्‍यो त्यसले उनीहरूको सोचमाथि प्रश्न उठ्छ। राहुल गान्धीले जे गरे कांग्रेसलाई पनि लाज लाग्नुपर्छ।’ ठाकुरका अनुसार प्रहरीलाई अनुसन्धान गरी उचित कारबाही गर्न अनुरोध गरिएको छ।  

जवाफमा कांग्रेस महासचिव केसी वेणुगोपालले गान्धीविरुद्धको एफआईआरलाई भ्रामक राजनीतिको रूपमा वर्णन गरेका छन्। बिहीबार संसद बाहिर भाजपा सांसद प्रताप सारंगीले गान्धीले आफूलाई धक्का दिएको आरोप लगाएका थिए। 

घाइते उनलाई डा राम मनोहर लोहिया अस्पतालमा भर्ना गरिएको थियो। भाजपाका यी आरोपहरूको जवाफमा राहुल गान्धीले गौतम अदानीको मुद्दालाई दबाउनका लागि भाजपाले यो सबै नियतवश गरेको आरोप लगाएका छन्।

प्रकाशित: ५ पुस २०८१ १४:१६ शुक्रबार

#Rahulgandhi #BJP #congress #loksabha #NagarikNews